कांग्रेसका पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा, देउवाको यस्तो चुनौती
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
877
Shares
काठमाडौं । शुक्रबारदेखि शुरु भएको सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये पाँच प्रदेशका सभापतिहरुले चुनावी गठबन्धनको विपक्षमा धारणा राखेका छन् । बैठकमा धारणा राख्ने क्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन् ।
सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्तित छैनन् । उनी पनि गठबन्धनका पक्षमा छैनन् । लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए ।
प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा जारी रहेको कांग्रेस बैठकलाई चासो पूर्वक हेरिएको छ ।
चुनावमा गठबन्धन गरेर जानु पर्ने र त्यसको विरोध गर्नेहरुको दुई समूह कांग्रेसमा भएका कारण केन्द्रीय समिति बैठकलाई चासोका रुपमा हेरिएको छ ।
सभापति एवं गठबन्धनबाट प्रधानमन्त्री छानिएका शेरबहादुर देउवाले गठबन्धनको पक्षमा वकालत गरिरहँदा शेखर कोइराला पक्षले भने गठबन्धनको विरोध गरिरहेको छ ।
केन्द्रबाट स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय लाद्न नहुने पक्षमा रहेको छ । गठबन्धनको पक्षमा बोल्नहरुले पनि केन्द्रबाट नभइ स्थानीय स्तरबाट गठबन्धन गर्नु पर्ने धारणा राखेका छन् ।
बैठकमा धारणा राख्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । उनले गठबन्धन गर्दै जाँदा कांग्रेसले कांग्रेमा भोट हाल्ने अवस्था कतिपय ठाउँमा नबन्ने बताउँदै पार्टी कमजोर हुने बताएका थिए ।
कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले गठबन्धन गर्न नहुने धारणा राखे । उनले अन्य पार्टीले भने अनुसार गठबन्धन गर्दा कांग्रेस आगामी दिनमा थप कमजोर हुने बताएका थिए ।
नेता बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताए । उनले पार्टीमा एकता कायम नगर्ने अनि बाहिर गठबन्धन गर्न खोज्दै हिँड्ने गर्न नहुने बताएका थिए । त्यस्तै नेता नैनसिंह महरले पनि गठबन्धन गर्न खोज्दा बगलीमा रहेको पनि खस्ने डर हुने बताएका थिए ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरेले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले स्थानीय चुनाव, गठबन्धन लगायका विषयमा धारणा राखेका थिए ।
बैठकमा प्रदेश सभापतिहरु उद्धव थापा (प्रदेशन नं १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गरेको कांग्रेस मुख्य सचिव कष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवाको चुनौती
सभापति देउवाले पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको विरोधमा आवाज चर्को भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् । देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै जितेर देखाउन चुनौती दिएका हुन् ।
बैठकमा धारणा राख्ने धेरैले गठबन्धन गरेर जान नहुने धारणा राखेका थिए । नेताहरुको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको विरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनु पर्ने चुनौती भएकाले सम्हालिएर बोल्न भनेका हुन् ।
गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहलाई देउवाले स्थानीय स्तरमा भएका चुनावमा नजित्नेले हामी बलियो छौं भन्नुको अर्थ नभएको भन्दै आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
केन्द्रीय कार्यसमितिको बैठक चैत्र १३ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।