arrow

श्रीलंका विरुद्धको पहिलो टेष्टमा भारत तेस्रो दिनमै विजयी, जडेजा र आश्विनको रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
india-test-cricket-2022-march.jpg

काठमाडौं । रविन्द्र जडेजाको कीर्तिमानी अलराउन्ड प्रदर्शनसँगै भारतले श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा शानदार जित हासिल गरेको छ । भारतले मोहालीमा भएको पहिलो टेष्ट तेस्रो दिनमै एक इनिङ्स र २२२ रनले जितेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ५७४ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । जडेजाले २२८ बलमा अविजित रहँदै १७५ रन जोडे । त्यस्तै ऋषभ पन्तले ९७ बलमा ९६ रन बनाए । रविचन्द्रन आश्विनले ६१ तथा हनुमा विहारीले ५८ रन जोडे ।

श्रीलंकाका सुरंगा लक्माल, विश्व फर्नान्डो र लासिथ इम्बुल्डेनियाले २–२ विकेट लिए । 

जवाफमा उत्रिएको श्रीलंकाले बिर्सनयोग्य खेल्यो । पहिलो इनिङस्मा १७४ रनमै अलआउट भएपछि श्रीलंकाले फलोअन जोगाउन सकेन । 

दोस्रो इनिङ्स ब्याटिङ गरेको श्रीलंका १७८ रनमा अलआउट भयो । पहिलो इनिङ्समा पथुम निसांकाले सर्वाधिक ६१ तथा दोस्रो इनिङ्समा निरोशन डिकवेलाले अविजित रहँदै ५१ रन बनाए । 

पहिलो इनिङ्समा जडेजाले ५ तथा जसप्रित बुमराह र आश्विनले २–२ विकेट लिए । दोस्रो इनिङ्समा जडेजा र आश्विनले ४–४ तथा मोहम्मद शामीले २ विकेट लिए । 

जडेजाको नाममा यो खेल
यो खेल जडेजाकै नाममा रहन गएको छ । जडेजाले एकै इनिङ्समा शतक र ५ विकेटको कीर्तिमान बनाएका छन् । 

यो रेकर्ड लेखाउनेमा उनी चौथो भारतीय हुन् । तर १५० रन र ५ विकेट लिने उनी तेस्रो भारतीय हुन् । 

बिनु मान्कन्डले सन् १९५२ मा इङ्गल्याण्ड विरद्ध १८४ रन तथा ५ विकेट लिएका थिए । सन् १९६२ मा पोली उमरिगरले वेष्ट इन्डिजविरुद्ध अविजित १७२ तथा ५ विकेट लिएका थिए । 

त्यस्तै आश्विनले शतक र ५ विकेट भने तीन पटक गरिसकेका छन् । उनले सन् २०११ र २०१६ मा वेष्ट इन्डिजविरुद्ध तथा सन् २०२१ मा इङ्गल्याण्डविरुद्ध यो रेकर्ड बनाएका थिए । 

उनले कपिलदेवलाई समेत पछाडि छाडेका छन् । आश्विनले ८५ टेष्टमा ४३५ विकेट लिएका हुन् । कपिलदेवले १३१ खेलमा ४३४ विकेट लिएका थिए । भारतका लागि सबैभन्दा बढी अनिल कुम्बलेले १३२ खेलमा ६१९ विकेट लिएका थिए ।

भारतको यो जित श्रीलंकाविरुद्ध सर्वाधिक दोस्रो ठूलो जित हो । यसअघि सन् २०१७ मा नागपुर टेष्टमा एक इनिङ्स र २३९ रनले विजयी भएको थियो । 

यो खेलबाट विराट कोहली सयौं खेल क्लबमा सामेल भएका छन् । 

दोस्रो टेष्ट १२ मार्चदेखि बैंगलुरुमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ