arrow

दूरदर्शी नीतिमा विचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
editorial-sampadakiya1.jpg

संसदमा अग्रणी भूमिकामा रहेर प्रतिनिधित्व गर्ने दलहरुले पार्टीको महाधिवेशन गरिसकेका छन् । केही दलहरुले अझ गर्न बाँकी छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले महाधिवेशन गरिसकेका छन् । जनता समाजवादी पार्टीले  महाधिवेशन गरेको छैन । एमालेबाट फुटेको एकीकृत समाजवादी दलले कार्यसमिति पूरा गरेको छ । जसपाबाट फुटेको लोकतान्त्रिक समाजवादी दलले पनि कर्मकाण्ड पूरा गरेको छ । साना दलको रुपमा संसदमा प्रतिनिधित्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चाले महाधिवेशन गरिसकेको छ । 

निर्वाचन आयोगमा दर्तारत कयौं दलले पार्टीको महाधिवेशन गरेका छैनन् । उनीहरुले एकपटक नयाँ कार्यसमिति गठन गरेपछि वर्षौंसम्म टीके उन्माद मनाइरहेका हुन्छन् । सम्भवतः निर्वाचन आयोगले उनीहरुलाई झक्झक्याउने र पार्टीलाई योग्य हुने सूत्र दिँदै होला । त्यो जरुरी पनि छ । त्यसो नहुँदो हो त एकपटक प्रमुख सधैको प्रमुख हुँदो हो । अनि सधै कुर्सी ओगटिरहँदो हो । राजनीतिमा सबैभन्दा सबल पक्ष प्रतिस्पर्धा हो । प्रतिस्पर्धाले जनचाहना अनुसारको व्यक्ति अगाडि लाग्न पाउँछ । उसलाई रोज्नेहरु पनि आफ्नो मताधिकारको प्रयोग गरेर जितको जश लिन पाउँछन् । जनप्रतिनिधि चयन गरिँदा त्यसले गर्ने गल्तीको अपजश ती मतदाताले पनि भोग्नु पर्ने हुन्छ । हाम्रो देशमा नेताले काम गरेन भने आफूले आफैंलाई सराप्ने मतदाता छन् । 

अहिले महाधिवेशन सम्पन्न गरेकाहरुले पनि टीके उन्माद कायम गरेको आरोप लागिरहेको छ । जस्तो कि नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनसम्म आइपुग्दा चुनाव नै गरेन । नेतृत्व चयन सीधै हुँदै आएको छ । एक जना प्रस्तावक, अर्को समर्थक र बाँकी थपडी बजाउनेहरु । नभन्दै आइतबार भएको पार्टीको आठौं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्ष चुन्यो । नारायणकाजी श्रेष्ठ प्रस्तावक र कृष्णबहादुर महरा समर्थक बने । बाँकी उपस्थित सबै सदस्यहरु थपडीकार । प्रचण्ड निर्विकल्प अध्यक्षका रुपमा उक्त पदमा तीन दशकबढी समयदेखि विराजमान भए । 

दोष उनीमा हैन । दोष परिपाटी र विधानमा हो । नाम मनोनयन गर्दा कोटको खल्टीमा भएका नामहरुलाई पढियो । नेकपा एमालेले पनि त्यसै गर्यो । डा. भीमबहादुर रावलले विधि र विधान चलाउन भन्दै आफूले हार्ने थाहा पाउँदा पाउँदै पनि केपी शर्मा ओलीसँग चुनाव लडे । तर केपीले त्यसलाई रुचाएनन् । उनले सीमित पदमा भएको चुनावमा आफ्नाहरुलाई एकछापे लगाउन खुलेआम निर्देशन दिए । स्वतन्त्रपूर्वक मन परेको उम्मेदवार जिताउन उनले भनेनन् । बाँकी नाम कोटको खल्तीबाटै निकालेर पढे । मनोनयन गर्दा पनि मनोमानी भएको आरोप लाग्यो । कांग्रेसले स्वतन्त्रपूर्वक महाधिवेशन त गर्यो । चुनाव लड्न खुला छोड्यो । तर मनोनित सदस्यहरु चुन्ने क्रममा सभापतिले चुनाव हारेकाहरु आफ्ना सबैलाई केन्द्रीय सदस्य बनाउन खोजेको आरोप छ । यसो गर्दा मतको अपमान भएको भनी आलोचना पनि हुन थालेको छ । 

अहिलेसम्म जसले चुनाव गरे तीमध्ये राप्रपामा बाहेक नेतृत्वमा पुरानै अनुहार आए । यसको मतलब यो हैन कि पुराना आउनु हुँदैन । तर कम्तीमा पहिले भन्दा अहिले नयाँ योजना भने आउनु पर्छ । दोहोरिँदा पुरानै नीति मजबुद भएको हुनुपर्छ । नत्र जसरी पनि चुनाव जित्नुपर्छ र आफू नै नेतृत्वमा हुनुपर्छ भन्ने मानसिकता राखी आफ्नो भन्दा बाहिरको गुटलाई स्वीकार नगर्ने प्रवृत्ति बस्यो भने त्यसले अन्ततोगत्वा पार्ने असर आम निर्वाचनमै हो । 

सबै दलमा स्वस्थ्य प्रतिस्पर्धाबाटै आउनेहरु नै भोलिका दिनमा आम निर्वाचन हुँदै देश हाँक्ने तहमा पुग्ने हुन् । दलहरुले विश्वसनीय, पारदर्शी र दूरदर्शी नीति र सोच अबलम्बन गर्न सकुन् । चुनाव एकपटक मात्र हैन क्षणक्षणमा आइरहन्छ । मूल्यांकन भइरहन्छ । अब तीन वटै तहका निर्वाचन आउँदैछन् । दलहरुले अहिले गरेका महाधिवेशनको पनि प्रभाव पक्कै पर्छ । तसर्थ विकास र समृद्धिका योजनासहित दलका विधान विश्वसनीय भई सोही अनुसार अवलम्बन गर्न सक्ने हो भने मात्र राजनीतिक विश्वास बलियो हुन सक्ने थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ