arrow

सम्पादकीय

व्यवहारमा नारी सम्मान !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
nari-diwas-mahila-diwas-womens-day.jpg

नारीलाई सबैभन्दा माथिल्लो दर्जा दिइन्छ । नारीको पूजा गरिन्छ । मनुस्मृतिमा पनि भनिएको छ कि जुन परिवारमा नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । जुन घरमा नारीको सम्मान हुँदैन, त्यहाँ गरिएका राम्रा काम पनि निष्फल हुन्छन् । नारी शक्ति देवतामा पनि लागू भएको विभिन्न ग्रन्थहरुमा पढ्न पाइन्छ ।  

नारी बिना सृष्टि चल्दैन । जसरी रथ एक पाङ्ग्राले चल्न सक्दैन त्यसरी नै यो धर्ती पनि पुरुषको बलले मात्र अघि बढ्न सक्दैन । तर पनि नारीलाई हेर्ने दृष्टिकोण विश्वभर अझै स्पष्ट छैन । कागजमा नारी–पुरुष बराबर भनिन्छ । नारीलाई अग्रसर बनाउनका लागि अझै पनि आरक्षणको व्यवस्था हटेको छैन । यति हुँदाहुँदै पनि नारीहरु विश्वमै पछाडि छन् । 

नेपाल पनि यसबाट अछुतो छैन । देशले महिला राष्ट्रपति पायो । देशले महिला सभामुख पायो । देशले महिला प्रधानन्यायाधीश पायो । अब्बल ठाउँहरुमा नारी सहभागीता बढ्दो क्रममा छ । तर एक दुई उदाहरणले सिंगो मुलुक चल्न सक्दैन । जबसम्म कागजी प्रक्रिया व्यवहारमा लागू हुँदैन तबसम्म नारी–पुरुष बराबरीको नारा खोक्रो हुन्छ । 

महिलाले नेतृत्व गरेका अन्य देशको सुशासन निकै माथि छ । भ्रष्टाचार कम छ । सेवा सशक्त छ । नारी सबलताका पक्ष बढी छन् । तर नेपालमा त्यो सम्भव हुन सकेको छैन । नारी–पुरुष बराबरी भनेर भाषण गर्ने नेताहरु घरमा भने नारीमाथि अपमान गरेका उदाहरण प्रशस्त छन् । 

नारीलाई उपल्लो दर्जामा राख्ने तर व्यवहारमा भने नारी पनि मान्छे हो र ? भन्ने व्यवहार अझै गरिन्छ । बोक्सीको नाममा नारीको अपमान अझै हटेको छैन । छाउपडीको नाममा महिलाले दुःख पाउन अझै छाडेका छैनन् । 

व्यवहारले आज पनि नेपाली महिला पितृसत्तात्मक शासनको दलदलमा छन् । असमानता ब्याप्त छ । श्रम शोषण भएको छ । न्यायकर्मी महिला हुँदा पनि महिलाले न्याय पाउन सकेका छैनन् । राष्ट्रपति महिला भए पनि आज महिला आफूले अधिकारबाट बञ्चित छन् । 

मुलुकमा महिला राष्ट्रपति हुँदा पनि छोरी–चेलीहरु बलात्कृत हुनु परेको छ । बलात्कारपछिको हत्याजस्तो जघन्य अपराध गर्ने अपराधीहरु अझै कानूनको दायरामा आउन सकेका छैनन् । कुनै पनि छात्रा सुरक्षित हुने आधार छैन । दिनहुँ बलात्कार र करणीको शिकार हुन परिरहेको छ । 

हुनत महिला राष्ट्रपति हुँदैमा र महिला प्रधानन्यायाधीश हुँदैमा अपराध घट्दैन । व्यवहारमै कडा कानून बनाउने र त्यसको अवलम्वन गर्ने साथै संस्कारी शिक्षा दिने हो भनेमात्र यसलाई कम गर्न सकिन्छ । 

सृष्टि चलाउनकै लागि प्रकृतिले मानिसलाई महिला र पुरुषका रूपमा विकास गरेको हो । यहाँ कोही ठूलो र कोही सानो छैन । सबै बराबर हो । लैंगिक विभेद मानिसले सिर्जना गरेको चिज हो । तसर्थ यसलाई मानिसले नै अन्त्य गर्न सक्छ । जुन चिजको सिर्जना गरिन्छ त्यसलाई नष्ट गर्न पनि सकिन्छ । 

समयको गति तीव्र छ । अहिले छोरालाई काखा र छोरीलाई पाखा गर्ने जमाना छैन । तसर्थ महिला सशक्तीकरणमा राज्यले थप अग्रगामी नीति र कार्यक्रम तय गर्नुपर्छ । महिलालाई दोस्रो दर्जाको नागरिक ठान्नेहरूको बोलवाला अन्त्य हुनुपर्छ । 

त्यसो त नेपालको संविधानले महिलाको हकबारे बोलेको छ । जसले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकसमेत सुनिश्चित गरेको छ । तर दुर्भाग्य संविधानका पालनकर्ताहरू यो विषयप्रति गम्भीर नदेखिनु दुःखद पक्ष हो । 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । जसमा महिला ५१.०४ प्रतिशत अर्थात् १ करोड ४९ लाख १ हजार १६९ रहेको छ । 

जबसम्म यो जनसंख्या सुुरक्षित हुँदैन तबसम्म महिला दिवस मनाएरमात्र कुनै अर्थ राख्दैन । यसतर्फ सरकारसँगै सम्बन्धित निकाय गम्भीर बनोस् । नारी दिवसको मंगलमय शुभकामना । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ