arrow

सम्पादकीय

जनतालाई रैती नबनाऔं, भीभीआईपीको सवारीमा विकल्प खोजौं 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
traffic-jam-ktm-2079.jpg

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरिन् । दिउँसो ३ बजे उनले सम्बोधन गर्ने भनिएको भए पनि उनी ३ बजेर ४ मिनेटमा मात्रै संसद भवनको प्राङ्गणमा पुगिन् । राष्ट्रपति भवन शितल निवासबाट उनी सहजै संसद भवन नयाँ बानेश्वर छिरिन् । उनलाई कुनै समस्या भएन । 

एक घण्टा लामो सम्बोधनपछि उनी शितल निवासमा फर्किन् । तर उनको सवारी हुँदा हजारौं सर्वसाधारणले दुःख पाए । विद्यार्थीदेखि लिएर कार्यालयका कर्मचारीसम्मले राष्ट्रपतिको सवारीका कारण दुःख खेप्न बाध्य भए । कतिपयले त जुन रुट भएर राष्ट्रपतिको सवारी भयो उक्त सडकको प्रयोग गर्न नपाउँदा अन्यत्र भएर जानु पर्यो । त्यतिमात्र हैन बिरामीलेसमेत पनि सहजै अस्पताल जान पाउने अवस्था रहेन । 

शुक्रबार राष्ट्रपतिको सवारी चलिरहँदा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षाकर्मीको लाठी नै खान पुगे । उनले अस्पतालको कार्ड देखाएर बिरामीको उपचारका लागि जान लागेको भन्दा पनि सुख पाएनन् । उनको टाउकोमा गम्भीर चोट लाग्यो । 

यो प्रतिनिधि उदाहरणमात्र हो । उनी चिकित्सक भएकाले आफू सहजै हिँड्न पाउने अनुमान गरेर गएका थिए । नत्र कुनै पनि सर्वसाधारणले त्यो हिम्मत गरेर राष्ट्रपतिको सवारीका बेलामा बाहिर निस्कने आँट गर्ने थिएनन् । जतिसुकै विपद किन नपरोस् राष्ट्रपतिको गन्तब्यमा असर पुर्याउनु ठूलो अपराध नै ठहरिने गरेको छ गणतान्त्रिक नेपालमा । 

प्रश्न यहाँनेर उठ्छ । २०६५ सालमा जनताले जिताएका प्रतिनिधिले राजसंस्था फालेर मुलुकमा गणतन्त्र ल्याए । त्यही गणतान्त्रिक संसदले राष्ट्रपति चयन गर्यो । तर हिजो राजतन्त्र छँदा राजाको सवारीका बेलामा जुन दुःख र पीडा नागरिकले खेप्नु परेको थियो अहिले गणतन्त्रका बेलामा पनि त्यही दुःख र पीडा भोग्नु परिरहेको छ । 

यसै त उपत्यकाको ट्राफिक व्यवस्थापन अत्यन्त कमजोर छ । त्यसमाथि पनि भीभीआईपीहरुको सवारीका बेलामा हुँदै आएको यो अवरोधले भने निकै नै गम्भीर चुनौती थपेको छ । राष्ट्रपतिको सुरक्षा अहम् हुन्छ । तर यसकै नाममा हरेक सवारीमा सर्वसाधारणले दुःख पाउनु कतै पनि न्याय हैन । 

यसको विकल्प खोज्नु अबको एकमात्र विकल्प छैन । व्यवस्था फेरिए पनि तौरतरिकाको अवस्था उही रहेपछि परिवर्तनले खासै अर्थ राख्दैन । हिजो राजाको सुरक्षा राजसंस्थाका बेलामा महत्वपूर्ण थियो । तर आज त राष्ट्रपति जनताका प्रतिनिधिले चुन्ने हुन् । जनताकै सन्तान राष्ट्रपति हुने हुन् भने सोही परिस्थितिअनुसार सुरक्षा दिँदा उपयुक्त हुने देखिन्छ । 

सुरक्षा निकायको जिम्मेवारी एक ठाउँमा छ । तर सुरक्षाको नाममा पटक पटक सर्वसाधारण नागरिकले दुःख पाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ । सरकारले गम्भीर भएर यतातर्फ ध्यान देओस् । 

व्यवस्था फेरिएपछि अवस्था पनि फेरिएको अनुभूति नागरिकले पाउनु पर्छ । जनतालाई रैतीकै नजरले हेर्नु गणतन्त्रमा दुर्भाग्य हो । सम्मानित संस्थाप्रति आक्रोश होइन हरतरहबाट सम्मान पाउने वातावरण बनाउनु पर्छ । 
 



नयाँ