arrow

१४ अर्ब खर्च भइसक्दा पनि बाग्मती ढलमुक्त गर्न नसकेको आरोप

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
bagmati-river.jpeg

काठमाडौँ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले स्थापनाको २६ वर्षमा रु १४ अर्ब खर्च भइसक्दासमेत एक किमी नदी क्षेत्र पनि ढलमुक्त गर्न नसकेको भन्दै सफाइ अभियानकर्मीले निष्पक्ष छानबिनको माग गरेका छन् ।

विगत नौ वर्षदेखि स्वयंसेवी महाअभियानका रूपमा प्रत्येक हप्ता शनिवार बिहान दुई घण्टा वाग्मती सफाइ गर्दै आएको समूहले अधिकार सम्पन्न वाग्मती समितिलाई माग पत्र प्रस्तुत गर्दै यस्तो माग गरेको हो । विसं २०५२ मा राजधानीको सभ्यताका रूपमा रहेको वाग्मतीलाई ढलमुक्त गर्न अधिकार सम्पन्न वाग्मतीको स्थापना भएको थियो । समितिको नाम पटक पटक फेरियो । दर्जनौँ अध्यक्ष फेरिए तर एक किमी नदी पनि ढलमुक्त हुन सकेको छैन ।

समितिले परम्परागतता विकास गर्नुपर्ने वाग्मती, रुद्रमती, विष्णुमतीलगायत काठमाडौँ उपत्यकाका नदी संरचनालाई कङ्क्रिटको ठुलो पर्खालले छेकेर कुरूप बनाएको भन्दै अभियानकर्मीले सभ्यताको रुवरुप नबिगार्नसमेत माग गरेका छन् । सभ्यताको स्रोतलाई असभ्य र भद्दा नहरजस्तो बनाइएको भन्दै अभियानकर्मीले सच्याउन माग गरेका हुन् ।

नदीमा मिसाइएको ढल बन्द गराउने, अतिक्रमित जग्गा फिर्ता गराउनेजस्ता महत्त्वपूर्ण जिम्मेवारी पाएको समितिले त्यसो नगरी उल्टै नदी किनारका जग्गा विभिन्न व्यक्ति एवम् संस्थालाई बाँडेको भन्दै अभियानकर्मीले विरोध जनाएका छन् । सुकुम्वासीका नाममा नदी किनारको जग्गा अतिक्रमण गर्नेका कारण नदी सौन्दर्यीकरणसमेत अलपत्र बनेको वर्षौँ बितिसकेको छ । महाअभियानले व्यक्ति एवम् संस्थालाई व्यावसायिक क्रियाकलाप चलाउन जग्गा बाँडेको घटनाको छानबिन नागरिकसमेतको सहभागिता गर्न पनि अभियानकर्मीको माग छ ।

वाग्मती मनोहरा दोभान, रुद्रमती दोभान, ललितपुरको कुपण्डोल तल्लोस्तर र विष्णुमतीको टङ्केश्वर क्षेत्रमा व्यावसायिक व्यक्ति संस्थालाई जग्गा बाँडिएको आरोप माग पत्रमा लगाइएको छ । ती व्यक्ति एवम् संस्थाले भौतिक संरचना निर्माण गरी तालाबन्दी गरेका छन् । यो गैर जिम्मेवार कामका साथै भ्रष्टाचारजन्य क्रियाकलापसमेत भएकाले माग पत्र बुझाएर विरोधमा उत्रनुपरेको अभियानकर्मी गोविन्द काफ्लेले बताए ।

वाग्मतीको जग्गा जगेर्ना गर्नेसमेत जिम्मेवारी दिइएको सरकारी निकायले उल्टै व्यावसायिक समूहलाई दिएर सभ्यताको मर्ममाथि प्रहार गरेको उनले सुनाए । समितिले व्यक्तिगत सम्पत्ति जसरी व्यावसायिक व्यक्ति र संस्थालाई जग्गा दान दिने अधिकार नभएको भन्दै महाअभियानले निष्पक्ष छानबिनमा जोड दिएको हो । नदी किनारमा व्यक्ति र व्यावसायिक संस्थाले संरचना बनाउँदै गर्दा नै महाअभियानले खबरदारी गरेकामा समितिले अटेर गर्दै आएको छ ।

वाग्मती सभ्यतामा भइरहेका यस्ता गैर जिम्मेवार काममा तत्काल रोक लगाउन नौ बुँदे ज्ञापन पत्रमा माग गरिएको छ । बनिसकेका संरचना पनि तत्काल भत्काएर नदी किनारका सार्वजनिक जग्गा रक्षा गरी सौन्दर्यीकरण गर्न महाअभियानले जोडदार माग गरेको छ । गलत क्रियाकलाप सच्याउन ज्ञापन पत्रमार्फत विनम्र आग्रह गरिएको जनाउँदै महाअभियानले सुनुवाइ नभएमा सम्बद्ध पदाधिकारीका विरुद्ध जस्तोसुकै आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने भन्दै सचेत गराएको छ ।

महाअभियानले वाग्मती, रुद्रमती, विष्णुमतीलगायत काठमाडौँ उपत्यकाका नदी संरचनालाई ढलमुक्त गर्ने कार्य योजना सार्वजनिक गर्न पनि माग गरेको छ । नदी किनारमा फोहर फाल्ने कार्यलाई तत्काल रोक लगाउनुपर्नेमा पनि अभियानकर्मीको जोड छ । नदी किनारका अतिक्रमित जग्गा विसं २०२२ सालको नापीअनुसार छुट्टाएर अतिक्रमण मुक्त गर्न पनि महाअभियानले समितिको ध्यानाकर्षण गराएको छ । नदी किनारका सार्वजनिक जग्गामा बगैँचा एवम् हरियाली बनाई सौन्दर्यीकरण गर्ने योजना अलपत्र बन्दै आएको छ ।

समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना आफू आएपछि कुनै व्यक्ति वा संस्थालाई नदी किनारको जग्गा भौतिक संरचना निर्माण गर्ने गरी नदिएको बताउनुहुन्छ । यसअघि बनेका संरचना भत्काउन पनि समितिले सार्वजनिक सूचना प्रकाशित गरेको पनि उनले सुनाए । अटेर गरेमा समितिले ती संरचना भत्काउने तयारीसमेत गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ