arrow

बागमती प्रदेश सभापतिका लागि त्रिपक्षीय भिडन्तः बानियाँ, केसी र प्रधान मैदानमा

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
cn-adhi.jpg

हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेशको काँग्रेस संसदीय दलका नेता समेत रहेका इन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट जगदीश्वर नरसिंह केसीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमतीका सदस्य ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

शुक्रवार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तालिका रहेको थियो भने दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने, दावी विरोध परेमा दिउँसो ३ बजेसम्ममा निर्णय भइसक्ने बताइएको थियो । तर सबैको समय तालिका १ देखि २ घण्टा ढिला सरेको काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् ।

दिउँसो ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार पहिलो नाम प्रकाशित गर्ने कार्यक्रम रहेको बताइएको छ ।

हेटौँडाको वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा हिजो बिहीबारबाट अधिवेशन सुरु भएको छ शनिवार बिहान ९ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधिले भोट हाल्नेछन् । अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सह महामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ