सर्लाहीको बलरामा गोली चल्यो, मन्त्रीका अंगरक्षकसहित दुई घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
1.2k
Shares
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा कांग्रेसको वडा अधिवेशन स्थलमा पार्टीकै दुई समूहबीच विवाद भएपछि गोली चलेको छ ।
आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा कांग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह त्यहाँ पुगेका थिए ।
सोही बेला कांग्रेस नेता एवं सर्लाही क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंह र प्रदेश सरकारका मन्त्री सिंहका कार्यकर्ताबीच हात हालाहाल भएपछि मन्त्री सिंहका अंगरक्षकले एक राउण्ड हवाई फायर गरेका हुन् ।
विवादका क्रममा आफ्ना अंगरक्षक (पीएसो)प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतो घाईते भएको मन्त्री सिंहले जानकारी दिए । घाइते दुवै जनाको जिल्ला अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ ।
मन्त्री सिंहले डा.अमरेश कुमार सिंह निकटका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले समिति चयन गर्न नपाएपछि आफू र आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
विवादपछि अचलगढमा आजका लागि कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यस्तै, बलराकै वडा नं.५ अर्नाहा र वडा नं. ११ मा पनि विवादकै कारण वडा अधिवेशन स्थगित गरिएको छ ।
वडा नं.२, ३, ४, ६ र ७ मा भने सहमतिमा नेतृत्व चयन भएको छ । ११ वटा वडा रहेको बलरा नगरपालिकाका बाँकी वडाहरुमा भोलि सोमबार मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिने बताइएको छ ।
सर्लाहीको ४ नम्वर निर्वाचन क्षेत्रमा पर्ने बलरा नगरपालिका सुरक्षाको हिसाबले अति संवेदनशील मानिन्छ ।