काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर आफ्नो अभिव्यक्ति मिडियाले गलत रुपमा व्याख्या गरेको प्रतिक्रिया दिएका छन् ।
शनिबार चाक्सीबारीमा प्रकाशमानलाई भेट्न पुगेका डा.कोइरालाले मिडियामा आएको अभिव्यक्तिको आशय होच्याउने खालको नभएको बताएका हुन् । ‘उहाँहरुबीच सौहार्दपूर्ण रुपमा कुरा भयो । अस्ती मिडियामा आएको कुराप्रति डा.सापले सरी भन्नुभयो,’ प्रकाशमान निकट स्रोतले भन्यो ।
भेटका क्रममा डा.कोइरालाले काठमाडौंमा तपाईको पकड बलियो छ भन्न खोजेको र उपसभापति र महामन्त्री भइसकेको नेता भनेर उल्लेख गर्न खोजेको बताएको स्रोतले बतायो ।
डा.कोइरालाले प्रकाशमानलाई काठमाडौं बाहिर कसैले चिन्दैन भनेर बोलेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । भेटका क्रममा उनीहरुबीच संस्थापनइतरबाट साझा उम्मेद्वारका विषयमा छलफल भएको थियो ।