सत्तारुढ दललाई मन्त्री छान्नै हम्मे : संख्या कम आकांक्षी धेरै
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
768
Shares
काठमाडौं। मन्त्रीको संख्या र मन्त्रालयमा सहमती जुटेपनि सत्तारुढ गठवन्धनमा गाँसिएका दललाई मन्त्रीको नाम टुंगो लगाउन सकस परेको छ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीबाट थप ककसलाई मन्त्री बनाउने भन्ने तय गर्न सकेको छैन। कांग्रेस भित्र गुट अनुसार मन्त्री छान्नु पर्ने र आकांक्षी धेरै हुँदा नाम तय गर्न समास्या परेको छ।
संख्या र मन्त्रालयमा भएको सहमतिपछि बुधबार गठवन्धनमा आबद्ध सबै दल मन्त्रीका लागि नाम टुंगो लगाउन दिनभर आन्तरिक बैठकमा व्यस्त भएका थिए । तर माओवादी बाहेकका दलले आकांक्षी धेरै हुँदा मन्त्रीका नाममा सहमति गर्न सकेका छैनन्।
माओवादी बाहेकमा समस्या
बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन मन्त्रालय मागेका थिए।
यस्तै कांग्रेस भित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौलालेसमेत आफ्नो समूहबाट मन्त्री बन्ने नेताको नाम प्रधानमन्त्री देउवालाई दिएका छैनन्।
माओवादी केन्द्रले भने बुधबार नै मन्त्रीको नाम तय गरिसकेको छ । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम तय गरेको हो।
यस्तै माधव नेपाल नेतृत्वको दल नेकपा एसले पनि मन्त्रीका लागि नाममा सहमती गर्न सकेको छैन। यसैगरी जसपालेसमेत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मन्त्रीको नाममा सहमती गर्न नसकेपछि शीर्ष तहलाई नै निणर्य गर्ने जिम्मेवारी दिएको छ।
२९ असारमा प्रधानमन्त्री बनेका देउवाले सरकार गठन भएको ८७ दिनमा बिहीबार मन्त्रिपरिषद्लाई पूणर्ता दिने तयारी गरेका हुन्।
सत्ता गठवन्धनमा आबद्ध चार दलबीच गत मंगलबार विहान मन्त्रीको संख्या र कुन दलले कुन कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति भएको थियो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपाबीच भएको भागबण्डा अनुसार कांग्रेसले कुल ७, माओवादी केन्द्रले ५, नेकपा एसले ५ र जसपाले ४ मन्त्रालय पाउने भएका छन्।
‘मन्त्रीको संख्या र मन्त्रालयमा सहमती भइसकेको छ, बाँकी विषय मिलाएर आजै साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ,’प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने।
प्रधानमन्त्री निकट नेता मीन विश्वकर्माले सबै विषयमा सहमती जुटिसकेकाले आज नै मन्त्रीहरुको सपथ हुने जानकारी दिए।
‘सबै विषयमा सहमती भइसकेको छ, बिहीबार साँझसम्मसपथ हुन्छ,’नेता विश्वकर्माले भने।
मन्त्रालयको जोट घटाउ अझै पनि
कांग्रेसले रक्षा मन्त्रालय लिने कि छाड्ने टुंगो भइसकेको छैन। तर स्वास्थ्य, संचार तथा सुचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कांग्रेसको भागमा परेको छ। रक्षा कांग्रेसले पाए तत्कालका लागि प्रधानमन्त्री आफैंले राख्न सक्ने सम्भावना छ।
यसैगरी माओवादी केन्द्रले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय पाउने भएको छ।
यस्तै नेकपा एसले संस्कृती पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, यूवा तथा खेलकुद मन्त्रालय पाउने पक्का भएको छ । रक्षामा पनि सो दलको दाबी छ । रक्षा उसले छाड्दा शिक्षा मन्त्रालय पाउने सम्भावना छ।
यसैगरी जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रसासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।
प्रधानमन्त्रीको चिवालयका अनुसार बिहीबार विहान गठवन्धनमा आबद्ध शीर्ष नेताहरुको पुनः बैठक बसेर बाँकी विषयमा सहमती गर्ने तयारी छ ।
कांग्रेसबाट यी छन् चर्चामा
कांग्रेसबाट दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ। सो समूहबाट तेजुलाल चौधरीसमेत मन्त्री बन्ने कसरतमा छन्।
सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरी मध्ये एक जना मन्त्री बन्ने छन्। कांग्रेसले मन्त्रीको नाम टुंगाइसकेको छैन।
यस्तै कांग्रेस संस्थापनबाट पुष्पा भुषाललाईसमेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाउँदै छन्। बडु र रिजाल कांग्रेस भित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। यस्तै प्रधान र चौधरी सिटौला समूहका हुन्। भुषाल भने देउवा निकट हुन्।
यस्तै सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचार मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ। स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने यथावत राख्ने कि हटाउने भन्ने प्रधानमन्त्रीको निणर्यमा भर पर्छ।
देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए। यस्तै १० साउमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए। यस्तै ६ असोजमा देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई ल्याएका थिए। देउवा क्याबिनेटमा हाल रहेका सबै मन्त्री पार्टी भित्रको उनकै समूहसँग आबद्ध छन्।
माओवादी केन्द्रबाट यी नाम
गठवन्धनमा भएको सहमती अनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन्। माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निणर्य गरेको छ। माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन्।
नेकपा एसबाट कोको ?
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि ५ मन्त्री र एक राज्यमन्त्री बन्नेछन्। सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ५ मन्त्री र एक राज्यमन्त्री गरी ६ जना सरकारमा सहभागी हुने पक्का छ। सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्ने छन्।
जसपाबाट यी नाम चर्चामा
जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको स्रोतले बताएको छ। प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएका हुन्। यस्तै जसपाबाट महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मध्येबाट चार जना मन्त्री हुने छन्।