माओवादी केन्द्रको कार्यविधि : वडादेखि केन्द्रसम्म नै निर्वाचनबाट नेतृत्व
अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
769
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संरचनाको तल्लो तह वडादेखि उपल्लो तह केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने भएको छ । मङ्गलवार भएको केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रममार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ कार्यविधि अनुसार पार्टीको वडा संरचनादेखि केन्द्रीय कमिटीसम्म निर्वाचनमार्फत नै नेतृत्व छान्ने बताएका हुन्।
कार्यविधिमा वडा, प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीसहित सबै तहका कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने उल्लेख छ ।
यस्तै निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ । कार्यक्रममार्फत अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनले अभिमुखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न निर्देशन दिएका छन् ।
माओवादी केन्द्रले आगामी ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरूका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएपछि नेतृत्व चयन हुनेछ ।
माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार वडा तहदेखि प्रदेश हुँदै केन्द्रीय कमिटी सम्मका सबै कमिटीहरूमा दुई लाख ८५ हजार पदहरूमा निर्वाचनमार्फत नेतृत्व चयन हुने छन् ।
बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका छन् ।
बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैर भौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच÷पाँच जना सहभागी रहेका थिए ।