सशस्त्र प्रहरीद्वारा नेपालगन्जको जयसपुरबाट सालकसहित एक जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
949
Shares
नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगन्ज सीमा नाकाबाट दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द विहारी शुक्लाको कमान्डमा गएको टोलीले आज बिहान ७ बजे नेपालगन्ज १६ जयसपुर हुँदै भारततर्फ लैजाँदै गरिएको १४०० ग्राम बराबरको सालकको खपेटासहित विभिन्न सामाग्री बरामद गरेको हो।
सशस्त्र प्रहरीको टोलीले जयसपुर नाकाबाट लुकाई छिपाई शङ्कास्पद तरिकाले भारततर्फ सालकसहित अन्य सामाग्री लैजाँदै गरेका बार बर्दिया १ बनगाइका २४ वर्षीय नकुल थापा मगरलाई समेत पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिएका छन् ।
सालकको खपेटा र पक्राउ परेका थापा मगरलाई आवश्यक कारबाहीका लागि आजै डिभिजन बन कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए। त्यस्तै थापा मगरको साथबाट गस्ती टोलीले रेड मी ९ मोडेलको एक थान मोबाइल सेट, मोबाइल सेटमा प्रयोग गरिएका २ थान सिम, प्रयोग नभएको एक थान सिम, रातो सानो ब्ल्याकेट एक थान झोला समेत बरामद गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक बमले सीमा नाकामा हुने तस्करी रोक्न कडा निर्देशन दिएका छन् । अहिले सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गर्दै धमाधम तस्करीका सामाग्री बरामद गर्दै आएको छ।