सशस्त्र प्रहरीको रणनीति अब तयारी मात्र होइन तत्काल परिचालन : आइजीपी अर्याल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
744
Shares
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई अब केवल ‘तयारी’ मा मात्र सीमित नराखी ‘तत्काल परिचालन’ को रणनीतिमा लैजाने घोषणा गरेका छन्।
कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले अबदेखि विपद्को सूचना प्राप्त हुनासाथ जोखिमयुक्त क्षेत्र नजिकै टोली परिचालन गरिसक्ने नीति बनाइएको जानकारी दिए। जोखिमयुक्त कार्यमा खटिने सशस्त्र प्रहरीका लागि सरकार र सङ्गठनले कल्याणकारी योजनाहरू थप गरेको बताउँदै उनले गोताखोर र जोखिमयुक्त ड्युटीमा खटिने कर्मचारीको बीमा सुविधामा उल्लेख्य वृद्धि गरिएको उल्लेख गरे।
अब कुनै दुर्घटना भएमा सरकार र बीमा कम्पनीको सहकार्यमा पीडित परिवारले कुल ३७ लाख रुपैयाँसम्म पाउने व्यवस्था सुनिश्चित गरिएको छ भने उद्धारका क्रममा ज्यान गुमाउनेहरूलाई ‘विपद् शहीद’ घोषणा गर्न सरकारसमक्ष प्रस्ताव समेत पठाइएको छ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन इकाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएको चर्चा गर्दै आइजीपी अर्यालले ‘कुरिनटार’ र ‘गोताखोर’ शब्द एकअर्काको पर्यायवाची बनेको बताए। आफ्नो ज्यान जोखिममा पारेर अरूको ज्यान बचाउने उद्धारकर्ताहरूलाई समाज र जनप्रतिनिधिले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले शव निकाल्नका लागि अर्को जीवित सासलाई जोखिममा पार्नुअघि समाजले पनि धैर्यता र सचेतना देखाउनुपर्ने धारणा राखे। उनले गोताखोरहरू केवल तलबका लागि नभई ठूलो त्याग र समर्पणका साथ कार्यक्षेत्रमा खटिने गरेको भन्दै उनीहरूको मनोबल उच्च राख्न सबैको सहयोग आवश्यक रहेको बताए।
विपद् व्यवस्थापनलाई अझ प्रविधिमैत्री र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागसँग सहकार्य भइरहेको र देशभर ५९ वटा अस्थायी विपद् व्यवस्थापन बेसहरू सञ्चालनमा ल्याउन लागिएको छ। स्थानीय तहसँगको सहकार्यमा प्रत्येक वडाबाट ‘विपद् सूचक’हरू दर्ता गर्ने र नागरिकलाई ‘फर्स्ट रेस्पोन्डर’ बनाउन विशेष तालिम सञ्चालन गर्ने अभियान पनि सुरु गरिएको छ।
यसका साथै पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डमा ‘रोड सेफ्टी काउन्सिल’मार्फत अस्पताल र एम्बुलेन्सहरूलाई एकीकृत गरी दुर्घटनाका घाइतेलाई तत्काल उपचार दिलाउने नयाँ प्रोजेक्ट सुरु गर्न लागिएको छ। वि.सं. २०६३ देखि हालसम्म सशस्त्र प्रहरीले १५ हजारभन्दा बढीको सकुशल उद्धार गरिसकेको स्मरण गर्दै अर्यालले सानो गल्तीले पनि ज्यान जान सक्ने भएकाले पूर्ण अनुशासित भएर कार्यक्षेत्रमा खटिन सकल दर्जाका प्रहरीलाई निर्देशन दिएका छन्।