arrow

कोहली डकआउट भएको खेलमा राहुलले सम्हाले कमान, यी बने रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
rahul-jadeja-cricket-india.jpg

काठमाडौं । इङल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले ९५ रनको अग्रता लिन सफल भएको छ । नटिङघमको घरेलु मैदानमा इङल्याण्डले पहिले ब्याटिङ गर्दै पहिलो इनिङमा १८३ रन बनायो । 

कप्तान जो रुटले ६४ रन बनाए बाहेक कसैले पनि अर्धशतक पूरा गर्न सकेनन् । जसप्रित बुमराहले ४, मोहम्मद शामीले ३, शार्दुल ठाकुरले २ तथा मोहम्मद सिराजले १ विकेट लिए । 

जवाफमा भारतले राम्रो शुरुआत गर्न सके पनि अन्य ब्याट्सम्यानले साथ नदिएपछि कमजोर स्थितिमा पुगेको थियो । ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र लोकेश राहुलबीच पहिलो विकेटका लागि ९७ रनको साझेदारी भयो ।

यो पछिल्लो १० वर्षमा इङल्याण्ड, न्यूजिल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकी भूमिमा बनेको सबैभन्दा ठूलो पहिलो विकेटको साझेदारी हो । यसअघि अष्ट्रेलिया विरुद्ध रोहित र शुभमन गिलबीच ७१ रनको साझेदारी रहेको थियो । रोहितले ३६ रन बनाए ।

त्यसपछि निरन्तर विकेट ढल्यो । कप्तान विराट कोहली डकआउट (पहिलो बलमै आउट) भए । उनी जेम्स एन्डरसनको बलमा आउट भए । एन्डरसनले कोहलीलाई टेष्टमा छैटौं पटक आउट गरे । खेलमा ब्याटिङको नेतृत्व राहुलले सम्हाले । राहुलले ८४ रन बनाए । त्यस्तै अलराउन्डर रविन्द्र जडेजाले ५६ रन बनाए । उनी टेष्टमा २ हजार रन पूरा गर्दै रेकर्ड बनाउन सफल भए । 

उनको खातामा दुई हजार रनसँगै २ सय भन्दा बढी विकेटको रेकर्ड बनेको हो । जडेजा यो रेकर्ड बनाउने पाँचौं भारतीय बनेका छन् । यसअघि कपिल देव, अनिल कुम्बले, हरभजन सिंह र रविचन्द्रन आश्विनले यो रेकर्ड बनाए थिए । 

इङल्याण्डका लागि ओल्ले रोविन्सनले ५ तथा जेम्स एन्डरसनले ४ विकेट लिए । एन्डरसनले सबैभन्दा बढी विकेट लिने खेलाडीको मामलामा रेकर्ड बनाएका छन् । 

उनी तेस्रो नम्बरमा पुगेका छन् । ६२१ विकेट लिएका एन्डरसनले भारतीय खेलाडी अनिल कुम्बलेलाई पछाडि छाडेका छन् । कुम्बलेको नाममा ६१९ विकेट थियो । 

एन्डरसनअघि अब श्रीलंकन खेलाडी मुतैया मुरलीधरन छन् । उनले ८०० विकेट लिएका छन् । त्यस्तै अष्ट्रेलियन खेलाडी शेन वार्न ७०८ विकेटसहित दोस्रो स्थानमा छन् । 

जवाफमा इङल्याण्डले तेस्रो दिनको समाप्तिसम्म कुनै विकेटको क्षति बिना २५ रन बनाएको छ । रोरी बर्नस् ११ तथा डम सिब्ले ९ रनमा नटआउट छन् । इङल्याण्ड अझै ७० रनले पछि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ