काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले केही दिनभित्रै सरकार विस्तार हुने विश्वास व्यक्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आवश्यक निर्णय गरिसकेको तथा वैधानिकको विषयसमेत टुङ्गिइसकेको र अन्य दललेसमेत आवश्यक निर्णय दिने अन्तिम तयारी गरेकाले सरकार विस्तारमा बिलम्ब नहुने प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ । आइतवारै सरकार विस्तारका बारेमा अध्यक्ष दाहालले गठबन्धनका सबै दलसँग छुट्टाछुट्टै तथा सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।
गठबन्धनमा सहभागी राष्ट्रिय जनमार्चाले सरकारमा नजाने निर्णय गरिसकेको छ । यस्तै, नेकपा(एमाले)को माधवकुमार नेपाल समूहले पनि छिट्टै आफनो निर्णय दिने तयारी गरेको छ । “अब धेरै समय लिनुहुँदैन भन्नेमा हामी स्पष्ट छौ । केही दिनभित्रै स्पष्ट निर्णय आउला र आउनुपर्छ ” उनले भने ।
मन्त्रिपरिषद्मा पार्टीको तर्फबाट पठाउने नेताहरुको बारेमा निर्णय गर्न सोमबार ३ बजे पुनःस्थायी समितिको बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । फरक एक प्रशङ्गमा प्रवक्ता श्रेष्ठले लुम्बिनी प्रदेशमा संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने बताए । प्रदेश सरकार असंवैधानिक तरिकाले चलिरहेकाले त्यसलाई सच्याएर वैधानिक रुपमा सरकार गठनका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ ।
गठबन्धन प्रभावकारी, सरकार जनपक्षीय
माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका लागि स्थापित भएको गठबन्धनलाई देश र जनताको पक्षमा थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा क्रियाशील बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यस्तै, गठबन्धनको घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई जनपक्षीय बनाउनका लागि आफनो तर्फबाट पहल गर्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम, गठबन्धनमा आवद्ध दलसँग भएको छलफल तथा सरकार विस्तारलगायतका विषयमा जानकारी गराएका थिए ।