काङ्ग्रेसद्वारा दार्चुला घटनाको वास्तविकता सार्वजनिक गर्न माग
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
1k
Shares
काठमाडौं। नेपाली काङ्ग्रेसले दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात् जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात् सोही विवरण केन्द्रमा प्राप्त भएको काङ्ग्रेसले जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक भएको उल्लेख गरेका छन् ।
घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन पार्टीका तर्फबाट उहाँले सरकारसँग माग गर्नुभएको छ । आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने प्रवक्ता शर्माले विश्वास लिनुभएको छ ।