arrow

सरकारबाट बाहिरिएसँगै महन्थको गुटमा चिरा, ४ सांसद लागे उपेन्द्रतिर

उपेन्द्रकहाँ पुग्न खुट्टा उचालेका छन् रुही नाथले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
Mahanta_Thakur.jpg.jpeg

काठमाडौं। सरकारबाट बाहिरिएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षमा चिरा परेको छ । सरकारमा जाने बेला ठाकुरसँग २० जना सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादवसँग १२ जना मात्र सांसद थिए । तर सरकारबाट बाहिरिएपछि परिस्थिति फेरिएको छ । ठाकुर पक्ष भित्रै चिरा परेको छ । ठाकुरलाई सहयोग गर्नेहरु पनि अहिले ठाकुरको विपक्षमा उभिएका छन् ।

ठाकुरले शुक्रबार बोलाएको जसपको सांसदीय दलको बैठकमा ठाकुर निकट ७ जना सांसद अनुपस्थिति थिए । ती मध्ये ४ जना सांसद शनिबार उपेन्द्र यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । उपेन्द्र यादव पक्षका नेताका मृगेन्द्रसिंह यादवका अनुसार यादब पक्षले बोलाएको बैठकमा ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल उपस्थिति भएका छन् ।

यी ४ जना सांसद ठाकुर पक्षबाट आफ्नो पक्षमा पुगिसकेको पनि मृगेन्द्रसिंहले बताए । रुही नाथ काठमाडौ बाहिर भएकोले शनिबारको बैठकमा आउन नसकेको पनि उनले सुनाए । उनले भने,‘ रुही नाथ ज्युले पनि म अहिले काठमाडौं बाहिर छु । बैठकमा नआए पनि म तपाईहरुको साथमा छु भन्नु भएको छ ।’

स्रोतका अनुसार, ठाकुर पक्षबाट आफ्नो कित्तामा आएका सांसदहरूलाइ मन्त्री बनाउने आश्वासन अध्यक्ष उपेन्द्र यादवले दिएका छन् । यादव पक्षका अनुसार शनिबार यादव पक्षले बोलाएको बैठकमा प्रतिनिधि सभाका १७ जना सांसद र राष्ट्रिय सभाका दुई जना सांसद छन् । राष्ट्रिय सभा सदस्य मृगेन्द्रसिंह यादवले यसअघि नै कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् ।

शुक्रबार ठाकुरले बोलाएको जसपाको संसदीय दलको बैठकमा राजकिशोर यादव, प्रमोद साह, रानी मण्डल, अमृता अग्रहरी, दुलारी देवी खतवनी, नरमाया ढकाल, रुही नाथ अनुपस्थिति भएका थिए ।

ठाकुर पक्षसँग असन्तुष्ट भएका केही सांसद उपेन्द यादव पक्षसँग पुगिसकेका छन भने केही सांसदहरुले छुट्टै गुट बनाउन लागेका छन् । राजकिशोर यादव ठाकुर पक्षसँग अलग भए पनि उपेन्द्र यादव कित्तामा पुगेका छैनन् । उनले जसपाभित्रै नयाँ गुट बनाउने रणनीति बनाएका छन् ।

ओलीलाई भेटे ठाकुरले

यसैवीच शनिबार विहानै जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झाले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीई भेटेका छन् । ओलीलाई भेट्न ठाकुर पक्षका नेताहरु बालकोट पुगेका थिए ।

ओलीसँग शिष्टाचार भेट मात्र भएको भेटमा सहभागी नेता भण्डारीले बताए । ‘उहाँ प्रधानमन्त्री हुँदा बालुवाटारमा भेट भइरहेको थियो । त्यसैले आज (शनिबार)को भेट पनि शिष्टाचार नै हो ।’ भेटमा प्रधानमन्त्रीले आफूले आराम गरिरहेको जनाएका थिए । भेटमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीज्युले बालुवाटारबाट आए पछि मलाई रिल्याक्स भइरहेको छ भन्नुभयो ।’

ओलीसँगको भेटमा राजनीतिक कुराकानी नभएको भण्डारीले दावी गरे पनि शेरबहादुर देउवा नेतृत्व सरकारको विरुद्ध एमाले र जसपाको ठाकुर पक्ष एक ठाउमा उभिने विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ