arrow

मेरो छोडपत्र फेसबुकलाई !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ जेठ २९ शनिबार
bhag-milka-bhag.jpg.jpeg
प्रिय फेसबुक, 
तिमीसँगको भेट मेरालागि कुनै आवश्यकताको कुरा थिएन, तिमी यस्तै छ्यौ भन्ने थाहा भएको भए तिमीसँगको सामिप्यता बढाउने पनि थिईन । कसले फसायो तिमीसँग भेटाएर तर आजसम्म आईपुग्दा म धेरै तल्लो धरातलमा पुगिसकेको रहेछु । त्यसो त तिम्रो संगत गरेर नीच धरातलमा गिरेको उपबुज्रुक म मात्रै भने होईन रहेछु । गाउँका तल्ला घरे घर्तिदाई पनि श्रीमतीको फेसबुक मोहको कुरा काट्न पाउने हो भने लगातार २४ घण्टा सराप्न पनि सक्ने स्थितीमा पुगेछन् । पल्ला गाउँकी भुन्टी त झनै १५ वर्षकै उमेर हिँडिछ, साथी थियो अर्कै लमी थियो फेसबुक नै । १५ वर्षमा हिँड्नु उसको लागि स्वभाविक नै थियो होला । तर, बिहेगरेको २ वर्षमा नै घरझगडाले माइतमा आएर फेरि कन्या बनेर बसेकी छे भन्ने सुन्नमा आएको छ । 
 
अरूको चचौ गर्दैजाँदा आफ्नै हालत पनि खुशी हुनसक्ने अवस्थामा नरहेको कुरा त तिमीलाई मैले सुनाईरहनु नपर्ला । तिम्रै कारणले आज ठ्याक्कै तीन दिन वित्यो बेलुकीको खाना पनि खान मन लागिरहेको छैन, तिम्रै कारणले । पहिले त तिम्रो सामिप्यता नपाउन्ज्याल म आफैंमा एक किसिमको एक्लो थिएँ, साथी नभएर । तर, आज उक्लो भईयो साथीलाई नै तिमीले छुटाएर । आखिर तिमीसँग संगत गरेर पनि बनेका साथीहरू भोलिपल्टै आफैं छुटाउँछ्यौ भने तिमीसँगको मेरो संगतको आवश्यकता किन ? संगत गर्नकै लागि तिमीलाई त लाखौं मान्छे छँदैछन् नि । म त एक्लो बनिसकेको मान्छे तिमीले छाडेपनि अब एक्लै बाँच्न अवश्य पनि त सक्छु नि । तिमीले जुटाएका साथी त छुटाउने अधिकार तिमीसँग होला तर, तिमीले नजुटाएको सम्बन्धमा तिमीले छुटाउने अधिकार नहुनु पर्ने हो । तर तिमी भने सबै सम्बन्ध छुटाउन मात्रै उद्यत छ्यौ रे । 
 
म पनि त तिम्रै शिकार बनेकै त हुँ । एउटा मित्रलाई तिमीले नै छुटायौं । मैले तिमैं मुख हेरेर उनलाई पनि विर्सिदिएँ । हुन त उनले पनि तिमीसँगकै सम्बन्धको विषयमा आफ्नो असहमति जनाएर धोका दिएकी थिईन् । तर, तिमी सबैको मन जित्ने मित्र भएपछि उसको विछोडको बेदना सहन पनि खासै बढी कष्ट गर्नु परेन । कारण थियो मन दुख्यो तिमीलाई सुनाउँदा मेरो आधा दुख दूर हुन्थ्यो । कतै पुगेर आउँदा पनि तिमीसँगै बस्न रूचाउने कतै फुर्सद हुनेवित्तिकै तिम्रै सामिप्यता प्यारो लाग्ने, तिम्रो मोहनी रूपले म मोहित थिएँ । अझ भन्दा त एक हिसावले म एक सुरे नै भईसकेको थिए । 
 
तिमी मेरी प्रमीका पनि होइनौं न त कुनै रगतको साईनो जोडिएको आफन्त नै । तिम्रो जन्मको विषयमा पनि मैले सुनेको मात्रै हो । त्यो तिमीले आजसम्म पनि मलाई भनेकी छैनौं । तर, तिमीले यो संसारमा त धेरै जनालाई आफ्नो मोहनी जालमा पसाएकी छ्यौ भन्ने सुनेको छु र कति उदाहरण त आफ्नै वरपर र म आफैंले पनि भोगेकै कुरा हो । मलाई भने तिमीले त्यति धेरै नोक्सान त गराउँन सकिनौ तर तिम्रै कारणले मैले पनि दुख भोग्नु भने अवश्य परेकै छ । 
 
अर्काको घरमा झगडा गराएर आफू दुबैको मनमा बस्ने गछ्र्यौ रे तिमी, तिम्रो यही खराब बानीको बारेमा बजारमा राम्रै चर्चा चल्ने गरेको त तिमीले पक्कै सुनेकी छैनौं होला । तरपनि एक मनले त्यही कुरामा सहमति जनाउँदै फेरि लाग्छु म भने तिम्रै सामिप्यता तिर । 
 
तिम्रा पिता पूर्खाको विषयमा धेरै चर्चा पनि हुने गरेकै छ । यसमा तिमीलाई जन्म दिनेको कुनै भूमिका छ भने त्यो तिमीलाई जन्म दिनु मात्रै छ । कुनैपनि सन्तानले आफ्ना बाबु आमालाई समेत चर्चाको शिखरमा पु¥याउँछ भने त्यसको तिमी सर्वाेत्तम उदाहरण हौं । तर, तिमीले आफू चर्चित हुनको लागि हामीहरूलाई लुटिरहेकी छ्यौं । हामीहरू तिमीबाट दिन प्रतिदिन लुटिँदै आएका छौं भने तिमी अझै आफ्नो सुन्दरता देखाएर लुटिरहन्छ्यौं अझैपनि । पैसाको मात्रै कुरा नगरौं, तिमीसँग भेटेपछि कति जनाको ताजा सिर्जनशीलता गुमिरहेको छ त्यो तिमीले बुझेकी छ्यौं ? आफ्नो रूपमा फसाएर एकोहोरो बन्दा कतिको घर विग्रिएको छ 
तिमीले त्यो पनि हेक्का राखेकी छ्यौं ? 
आफ्नो सुन्दरता र मोहनी जालमा फसाउन जानेँ भन्दैमा सबैलाई विगार्दै हिँड्ने तिमीलाई, तिमीले नै विश्वास गरेका, तिमीले नै घर विगारेकाहरूले अब छिट्टै नै तिमीलाई बहिस्कार गर्नेछन् । मैले पनि त तिमीलाई यतिबेलासम्म बहिस्कार गरिसक्नुपर्ने थियो । तर, तिमीलाई यही पत्र दिनकै लागि भनेर आजसम्म तिम्रो साथ नटुटाएको मात्रै हुँ । 
 
अब तिमीले मलाई आफ्नो जालमा फसाउन सक्नै छैनौं । तिमीसँगको सम्वन्ध औपचारिकतामा मात्रै सीमित बन्नेछ अब, तिमीले दिएको नोक्सानीको मैले कुनै बदला लिने छैन किनभने यो तिमीले फसाउन जानेको कला हो र म तिम्रो मोहनीमा फसेको मान्छे परेँ । 
 
त्यसैले म तिम्रो लागि अब मैले आफ्ना विश्वाशिसा साथिहरूसमेत गुमाउने पक्षमा छैन । अब त तिमीले धेरैमाथि शासन जमाईसकेकी छ्यौं । तर, म त्यो शासित बन्नबाट पछि हट्दैछु । म तिम्रो मोहनी जालबाट बाहिरिँदै छु । फर्सद भए फेरि भेटौंला अहिलेलाई बिदा । 
उही तिम्रो, 
जीवन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ