arrow

२४ घण्टा सम्म पनि रहस्यमै केडिया अपहरण

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
Bara_Bariyapur_GE.jpg.jpeg
काठमाडौं । अहिले उद्योगी सुरेश केडियाको अपहरण भएको २४ घण्टा अर्थात् एक दिन पुगेको छ । केडिया अर्गनाईजेशनका कार्यकारी निर्देशक सुरेश केडीयाको अपहरण भएको २४ घण्टासम्म पनि प्रहरीले उनको अवस्थाको बारेमा पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय अन्तर्गत्का सबै युनिट तथा बारा जिल्ला र नजिकका भारतीय सीमा नाकाहरूमा कडाई गरेर खोजी गरिरहेको प्रहरीले अहिलेसम्म पनि कुनै जानकारी दिन नसक्दा उद्योग व्यवसायी तथा पीडित परिवारमा त्रास र चिन्ता कायमै छ । 
 
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विहीबार साढे ६ बजेदेखि हराइरहेका व्यवसायी केडियाको खोजी कार्यका लागि रातभरी नै जिल्ला भरका प्रहरीहरू परिचालित छन् । बारा जिल्लाको वारियापुर गाविसबाट अपहरणमा परेका व्यवसायी केडियालाई भारतीय सीमा तर्फ लैजाने सम्भावना रहेकोले भारतीय सीमा नाकामा बढी कडाई गरिएको प्रहरी सहायक निरीक्षक रामजी राउतले जानकारी दिए । उनले अहिलेसम्म सो विषयमा जानकारी पाउन नसकिएको बताए । 
 
विहीबार केडियालाई अपहरण गर्ने क्रममा केडियाका सवारी चालक विन्ध्यबासिनी दुई पर्सा निवासी उमेश शाहलाई गोली हानी घाईते गराएपछि उनी उपचारको क्रममा काठमाडौंमा छन् भने अपहरणमा परेका शाहको अवस्था अझै अज्ञात रहँदा उद्योगी व्यवसायीमा भने थप त्रासको स्थिती सिर्जना भएको छ । 
 
बाराको वारियापुरमा रहेको खाद्य उद्योगमा काम विशेषले पुगेर बीरगञ्जस्थित आफ्नै निवास फर्किने क्रममा उनी अपहरणमा परेका थिए । नेपाल भारत सीमाबाट झण्डै १६ किलोमिटर टाढा रहेको घटनास्थलमा भारतीय नम्बरप्लेटको सवारीमा आएकाहरूले पक्राउ गरिएको बताईएको छ । तर, प्रहरीले भने यसलाई पुष्टि गरेको छैन ।  
 
केडिया अर्गनाईजेशनका अध्यक्ष हिरालाल केडियाका माहिला छोरा तथा सांसद् विमल केडियाका सहोदर दाजु ५६ वर्षीय उनी सन् १९०९ मा स्थापना भएको केडिया अर्गनाइजेसनका अहिलेका कार्यकारी निर्देशक हुन् ।  काकाका छोरा प्रदीप केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियासँग समेत उनको साईनो रहेको बताईएको छ । नाताले प्रदीप र उनी दाजुभाई पर्दछन् । 
 
अर्गनाइजेसनले नेपालको उत्पादन, आयात–निर्यात, बैंक, वित्तलगायत क्षेत्रमा लगानी गरेको छ । अर्गनाइजेसन अन्तर्गत ब्रिज सिमेन्ट, रिलायन्स पस्मिना, यती फेब्रिक, सुन्दर फर्निचर, सीताराम गोकुल मिल्क, सिद्धार्थ बैंक, गोर्खा फाइनान्स, इन्दुशंकर चिनी उद्योगलगायत उद्योग व्यवसाय सञ्चालनमा छन् ।
 
महासंघद्वारा चिन्ता व्यक्त 
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले वीरगंजका उद्योगपति केडियालाई हतियारधारी समूहले अपहरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै महासंघले केहि समय यता अपहरण लगायतका घटनामा केहि कमि आएको होकि भन्ने महशुस भैरहेका बेला घटेको यस घटनाले उद्यमी व्यवसायीलाई पुनः त्रसित बनाएको बताएको छ । 
 
‘मुलुुको आर्थिक अवस्था अत्यन्त सिथिल भएको अवस्थामा अर्थतन्त्रलाई गतिशिल वनाउने उद्यमी व्यवसायीहरुनै अपहरणमा पर्न थालेपछि, अर्थतन्त्र कतातिर जाला, नेपालको वारेमा अन्तराष्ट्रिय जगतमा कस्तो संदेश जाला, गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ’ विज्ञप्तीमा भनिएको छ ‘अपहरित उद्योगपति केडियाको शीघ्र रिहाईका लागि सम्बन्धित पक्ष समक्ष जोडदार माग गर्दै उद्यमी व्यवसायी लगायत आम सर्वसाधारणको सुरक्षित जीवनयापन गर्न पाउने अधिकारको पूर्ण सुरक्षाका लागि महासंघ सरकारसंग आग्रह गर्दछ । महासंघ, केडीयाका निजी चालकको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ