arrow

अग्नि सापकोटा विरुद्धको मुद्दा १२ वर्षदेखि विचाराधीन, गृहमन्त्री लामिछाने मौन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
agni-sapkota-2080-07-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दा १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। पूर्व सभामुखसमेत रहेका सापकोटाविरुद्ध २० वर्षअघि काभ्रेका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरीको आरोपमा मुद्दा चलिरहेको छ। 

उनी विरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन १२ देखि सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको हो । अर्जुन लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा आफ्ना पतिलाई २०६२ बैशाख १६ मा माओवादीले अपहरण गरी हत्या गरेको र त्यसमा माओवादी नेता सापकोटा, सूर्यमान दोङसहित ६ जना संलग्न रहेको भनी किटानी जाहेरी दिएकी थिइन् । 

अनेक बाधा अड्चन र धम्कीबीच सर्वोच्चसम्म निवेदन दिइएपछि पूर्णिमायाको रिट दर्ता भई १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको हो । सापकोटाविरुद्ध मानवअधिकार उल्लंघनमा प्रहरीले जारी गरेको पक्राउ पुर्जी शक्तिको आडमा २०६९ सालमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारले ‘तामेली’ को नाममा निरस्त्र गरेको थियो । 

भट्टराई सरकारको निर्णयविरुद्ध पूर्णिमायाले सर्वोच्चमा दिएको रिटमा अदालतबाट मिसिल झिकाउने आदेश गरेपछि अहिले मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा माओवादी केन्द्रसँग विवाद शुरु भएपछि मुद्दाको पेशी तोकिएको भए पनि कुनै सुनुवाइ हुन सकेको थिएन । पछिल्लो समय भने उक्त मुद्दाको विषयमा कुनै सुनुवाई भएको छैन।

नागरिक समाजले बेलाबेला सभामुख अग्नि सापकोटाको मुद्दाको सुनुवाइ गर्न दबाब दिने गरेको भए पनि हाल नागरिक समूह पनि मौन देखिएको छ। नागरिक समूहले नेपाल प्रहरीलाई सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाउनसमेत दबाब दिएको थियो ।

हालका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सापकोटालाई पक्राउ गर्नसक्ने आँट देखिँदैन । सापकोटा पक्राउ भएको अवस्थामा उनको पद नै जाने स्थिति र सहकारी ठगी मुद्दामा लामिछानेमाथि नै अनुसन्धान सोझिने भयका कारण सापकोटाको मुद्दा नसुनेझैं गरेर लामिछाने बसिरहेका छन् । 

अर्कोतर्फ पीडित भने १२ वर्षदेखि न्यायको याचना गरेर रोइरहेका छन्। गृहमन्त्री लामिछानेले जति सुशासनको कुरा गरे पनि पीडितको आँशुलाई देखेनन् ।

न्यायको भिख मागेको उनले सुनेका पनि छैनन् । सापकोटा विरुद्धको फाइल कहिले खुल्छ स्वयं लामिछाने पनि बेखबर बनिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ