arrow

पहेँलो धातुको घेरामा प्रचण्ड सरकार

गृहमन्त्रीको निर्देशनमा रोकियो अनुसन्धान, आरोपी अर्थमन्त्री राखेर कसरी सुध्रिन्छ अर्थतन्त्र ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
ravi-barshaman-ministers.jpg

काठमाडौँ । सत्ताको नयाँ समीकरण बनेर सरकारका मन्त्रीहरु फेरबदल भएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका वर्षमान पुन अर्थमन्त्री बनेका छन् । यद्यपि उनी सुन तस्करीमा मुछिएका पात्र हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा वर्तमान अर्थमन्त्री पुनको सुन तस्करहरूसँगको सम्पर्क सम्बन्ध देखिएको छ ।

ब्युरो स्रोतले लिएको कल डिटेल रेकर्ड (सीडीआर) मा अर्थमन्त्री पुनको सुन तस्करीमा संलग्न रहेका जीवनकुमार गुरुङसँग सम्पर्क देखिएको छ। भन्सार विभागलेसमेत अनुसन्धान गरिरहेको अवस्थामा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म अर्थमन्त्री पुन र सुन तस्करीमा अनुसन्धान भइरहेका गुरुङबीच ११ पटक फोनमा कुराकानी भएको भेटिएको हो।

पुनले मोबाइलबाट गुरुङको नम्बरमा ६ पटक फोन गरेको कल डिटेलमा देखिन्छ । गुरुङले पनि सात पटक पुनलाई फोन गरेको देखिएको छ। तर उनीहरूबीच के कुराकानी भएको थियो भन्नेबारे कुनै तथ्य बाहिर आउन सकेको छैन ।

अनुसन्धानका लागि हिरासतमा रहेका गुरुङले वर्षमान पुनसँग कुराकानी भएको स्वीकारेका छन् । सुन तस्करीमा संलग्नता भनिएका गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयमा कार्यरत रहेको र उनलाई वर्षमान पुनले सम्पर्क गरेको बिन्दुबाट प्रहरीले यो विषयमा थप अनुसन्धान शुरु गरेको थियो।

हाल गृहमन्त्री रवि लामिछानेको निर्देशनमा उक्त अनुसन्धान रोकिएको स्रोतले पुष्टि गरेको छ।  केही समयअघि वर्षमानले आफ्नो नाम सुन तस्करीमा संलग्न तिब्बत मूलका भारतीय नागरिक दावा छिरिङ र रोल्पाकी अमला रोकासँग मुछिएपछि सो विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गरेका थिए ।

वर्षमानका आफ्नै भाइ प्रनिश पुनको नाममा भियना मल्टिपर्पस नामको सुन उत्खनन गर्ने उद्देश्य रहेको कम्पनी छ। सुन तस्करी अभियोगमा थुनामा रहेका दावा छिरिङसँग प्रनिशको प्रत्यक्ष सहकार्य थियो । अमला रोका, दीपक बुढा, सिसम रोकाका नाममा रहेको सो कम्पनीले सुनको खोजतलास गर्ने जनाएको थियो।

माओवादी पार्टीभित्रै केही स्थायी कमिटी सदस्यले पुनका सम्बन्धमा आइरहेका विवादले पार्टीकै छविमा आँच आउन सक्ने भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

'उहाँ (वर्षमान पुन) ले आफूमाथि सार्वजनिक रूपमै प्रश्न उठेपछि नैतिकता देखाउन सक्नुपर्छ', एक स्थायी कमिटी सदस्यले भने,'यद्यपि केही विषयमा पार्टीविरुद्ध नै जबर्जस्ती गलत भाष्य खडा गर्न खोजिएको छ । तर लोकतन्त्रमा आफूमाथि प्रश्न उठिसकेपछि अनन्त (वर्षमान पुन) कमरेडले यसबारे सोच्नुपर्छ । हामीले यो विषयमा बालुवाटारमा अध्यक्ष कमरेडसँग पनि छलफल गरिरहेका छौँ ।'

नेपाली कांग्रेससँगको गठबन्धन छाडेर २०७९ पुस १० गतेकै समीकरण ब्यूँताएपछि प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको आधारभूत ज्ञान नरहेको आरोप लागेका पुनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा १८ महिना अर्थमन्त्री भएका पुन पोखरा विमानस्थल निर्माण र चिनियाँ जहाज खरिद प्रकरणमासमेत विवादित बनेका थिए । पछिल्लो समय १ सय ३८ किलो सुन प्रकरणका मुख्य नाइके जीवनकुमार गुरुङसँगको बारम्बारको फोन संवादले पुन विवादित बनेका हुन् । 

गृहमन्त्री लामिछानेको निर्देशनमा सुन तस्करसँग प्रत्यक्ष सम्पर्कमा रहेका पुनको नाम अनुसन्धान प्रतिवेदनबाट गायब गरिएको छ।

पूर्व मुख्यसचिव बिमल कोइरालाले अर्थमन्त्रीजस्तो पदमा तस्करीको दाग लागेको व्यक्ति आसीन हुन नहुने र उनले तत्काली राजीनामा दिनुपर्ने धारणा राखेका छन्। उनले उच्च तहमा विवादित व्यक्तिलाई लैजानै नहुने यदि गइहालेमा ऊविरुद्ध राज्यका नियामक निकायहरूले छानबिन र अनुसन्धान गरी आवश्यक कारबाही गरेमात्र देशमा सुशासन स्थापित हुने बताए ।

पूर्वसचिव शारदाप्रसाद त्रितालले मन्त्रीमाथि छानबिन गर्न सक्ने निकायहरू धेरै भए पनि कहीँबाट पनि प्रभावकारी अनुसन्धान नहुने गरेको गुनासो गरे । उनले सुन तस्करी जस्तो संगठित अपराधमा जोडिएर विवादित बनेका व्यक्तिले देशमा सुशासन ल्याउन नसक्ने बताएका छन् ।

गृहमन्त्री लामिछानेले सुन तस्करीमा प्रत्यक्ष जोडिएको देखिएका मा‌ओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाईसमेत पक्राउ गरेर पनि साधारण तारेखमा छाडेपछि थप आलोचित बनेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ