arrow

कांग्रेस–माओवादीको ट्रिक : मधेस केन्द्रीत दलका माग सम्बोधन गर्न ९ सदस्यीय कार्यदल

राष्ट्रिय सहमति हाम्रो लाइन नै होइन

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
madheshi-morcha-manauna.jpg.jpeg
काठमाडौं । सत्ता गठबन्धन गर्न बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलहरूको बैठकले मधेसका समस्या समाधान गर्न सुझावका लागि ९ सदस्यीय कार्यदल बनाउने सहमति गरेको छ । 
 
शनिबार सिंहदरबारस्थित राज्य व्यवस्था समितिमा बसेको बैठकले मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि नेतृत्वलाई सुझाव दिन कांग्रेस, माओवादी केन्द्र र मोर्चाबाट ३–३ जना सदस्य रहने गरी कार्यदल बनाउने सहमति गरेको हो । बैठकमा मोर्चालाई सरकारमा ल्याउने, माग सम्बोधन गर्ने र संविधान संशोधनका लागि गर्न सकिने पहलबारे छलफल भएको र त्यसबारे सुझाव दिन कार्यदल बनाउने सहमति जुटेको नेताहरुले बताएका छन् । 
 
कार्यदललाई साउन १८ गतेसम्मको समयसीमा दिइने भएको छ । उक्त कार्यदलले सीमाङ्कनमा मधेसवादी दलले राख्दै आएको मागबारे संविधान संशोधनका लागि आवश्यक पहल गर्ने, मधेस आन्दोलनमा मृत्यु भएका, घाइते तथा पक्राउ परेका कार्यकर्ताका विषष्मा साझा धारणा ल्याउने नेताहरूले बताएका छन् । 
 
तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले मधेसका विषयमा साझा धारणा बनाएर जाने विषयमा अहिले तीन पक्षबाट तीन–तीन जना नेता रहने गरी कार्यदल बनेको बताए । यद्यपि, तमलोपा उपाध्यक्ष हृदयेश त्रीपाठी र सद्भावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले फरक मत राखिरहेकाले सरकारमा जाने विषयमा कुरा मिल्न सकेको छैन । सद्भावना अध्यक्ष राजेन्द्र महतोले समेत मधेसको माग पूरा नभएसम्म सरकारमा जाने विषयमा सोच्न नसकिने बताएका छन् ।
 
अन्य नेताहरुले भने संसदमा संकल्प प्रस्ताव दर्ता गरेर ठोस प्रतिवद्धता आए सरकारमा जान सकिने धारणा राखिसकेका छन् । मधेस समस्या समाधान भए सरकारमा जान संघीय मोर्चासहितको गठबन्धन तयार छ । 
 
 
यस्तै, ९ सदस्यीय कार्यदलमा को–को जाने भन्ने विषयमा तीनै शक्तिले आन्तरिक छलफल गर्दैै छन् । कार्यदलले प्रधानमन्त्रीको निर्वाचन पहिले नै सरकारले गर्ने काम कारबाहीका विषयमा समेत साझा धारणा बनाउने छ । 
 
राष्ट्रिय सहमति हाम्रो लाइन नै होइन 
बैठकमा सहभागि राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले आफुहरु सरकारमा नजाने विषयमा छलफल भएको बताए । उनले भने, ‘हामी सरकारमा नजाने नै हो । सोही विषयमा छलफल भएको हो । राष्ट्रिय सहमतिका लागि बोलाएको थियो रे नी त बैठकमा ? जवाफमा उनले भने, ‘राष्ट्रिय सहमति हाम्रो लाइ नै होइन ।
 
हामीलाई हाम्रो विषयमा छलफल गर्न बोलाइएको थियो । हामीले सरकारमा नजाने भनिसकेका छौं । आज पनि सरकारमा नजाने विषयमा छलफल भयो । यसअघि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमतिको सरकार लागि भन्दै मधेस केन्द्रीत दलहरुलाई छलफलमा डाकेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ