arrow

काँग्रेस विद्यार्थीहरु आमरण अनशनमा; के होला नेविसंघको महाधिवेशन?

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
nebisangh.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको विधिवत महाधिवेशन, भागबण्डाको खारेजीलगायतका माग राखेर रिले अनसनमा रहेका नेविसंघका कार्यकर्ताप्रति माउ पार्टी नेपाली काँग्रेसले बेवास्ता गरेपछि थप आक्रामक बनेका उनीहरुले शनिवारबाट आमरण अनशन शुरु गर्ने भएका छन्। महाधिवेशनका लागि विभिन्न समिति बनाइए पनि ती केवल कर्मकाण्डीजस्ता देखिएपछि नेविसंघको असन्तुष्ट पक्ष भने आमरण अनसन नै थाल्ने तयारी गरेको छ। आमरण अनशनमा विद्यार्थी नेता कुन्दन काफ्ले सहितका नेताहरु बस्दै छन्। पार्टी सभापतिले भनेपछि एक दिन पछि आमरण अनशन सारिएपनि विवाद मिलाउन कुनै ध्यान नदिइएको काफ्लेले बताए। 
 
नेपाल विद्यार्थी संघको ११ औ महाधिबेशन विधिवत रुपमा सम्पन्न हुनुपर्ने माग सहित विद्यार्थी नेताहरु कुन्दनराज काफ्ले, युवराज पाण्डे लगायतको नेतृत्वमा साउन ९ देखि नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शुरु गरिएको रिले अनशनले छैठौ दिन पार गर्दा पनि कुनै निष्कर्षमा नपुगे पछी हामि आमरण अनशन बस्न बाध्य पारिएको विद्यार्थी नेता डिल्लीराम सुवेदीले बताए। 
 
लामो समय देखि हुन नसकेको महाधिबेशन विधिवत र धाधली रहित रुपमा सम्पन्न गरि नेविसंघमा आन्तरिक लोकतन्त्र सुनिश्चित गर्नका लागि आमरण अनशन प्रारम्भ तथा दबाब कार्यक्रम गर्न लागिएको उनले बताए। असन्तुष्टहरुले दिउँसो २ बजे पार्टी कार्यालयमा दवाव कार्यक्रम र आमरण अनशन शुरु गर्दैछन। 
 
नेविसंघको महाधिवेशन यही साउन २३–२५ गते काठमाडौंमा हुँदैछ । तर त्यसका लागि तयारी भएको छैन । अहिलेसम्म ६४ जिल्लाबाटमात्र महाधिवेशन प्रतिनिधि छानिएको छ। त्यसमा पनि ११ जिल्लाका प्रतिनिधि आफूखुसी बाँडिएको भन्दै असन्तुष्ट पक्षले पुनः छनोट हुनुपर्ने माग गरेको छ । त्यस्तै ११ जिल्लामा अधिवेशन नै हुन सकेको छैन । 
 
अनसनमा बसेकाहरु पार्टीले विधिसम्मत महाधिवेशन गराउन चाहने हो भने यी सबै जिल्लाको छनोट पाँच दिनभित्रै सकिने प्रतिक्रिया दिन्छन्। त्यसैले पनि महाविधेशन अझै टरेको छैन्। तर त्यसका लागि काँग्रेस नेतृत्वमा भर पर्ने उनीहरुको भनाइ छ।  
 
आइतबारदेखि भएको रिले अनसनको पहिलो दिन अनसनका नेतृत्वकर्ता नेविसंघ कोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा ११ जना बसेका थिए। त्यसयता हरेक दिन बिहान ११ बजे ११ जना बस्दै आएका थिए। सोमबार केन्द्रीय सदस्य बलदेव तिमल्सिनाको नेतृत्वमा, मंगलबार केन्द्रीय सदस्य तुलसा पन्तको नेतृत्वमा, बुधबार पूर्व केन्द्रीय सदस्य एलबी कार्कीको नेतृत्वमा रिले अनसन बसेको छ। त्यस्तै बिहीबार बानेश्वर क्याम्पसका स्ववियु सभापति नारायण श्रेष्ठको नेतृत्वमा रिले अनसन भएको छ भने अन्तिम रिले अनसन शुक्रबार म्याग्दी जिल्ला सभापति भरत रतालको नेतृत्वमा भएको थियो।  
 
विद्यार्थीहरु आमरण अनशनमा बसेपछि नेविसंघको महाधिवेशन  के होला भन्ने आशंका पनि पैदा भएको छ भने नेताहरुलाई दवाव पर्ने कारणले महाधिवेशन वैधानिक रुपमा गर्न दवाव पर्ने एकथरीको बुझाइ छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ