arrow

भारतमा नेपाली साहित्यबारे चर्चा

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
nepalindia.jpg.jpeg
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले अध्ययन, अनुसन्धान, खोज–अन्वेषण, गोष्ठी, सेमिनारका अलावा परराष्ट्र सम्बन्धलाई पनि विशेष महत्व दिइरहेको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने उद्देश्यका साथ प्रतिष्ठानले भारत र चीनका एकेडेमीसँग केही वर्ष अगाडि द्विपक्षीय प्राज्ञिक सम्झौता गर्नुका साथै द्विपक्षीय भ्रमण आदान–प्रदान गर्दै आइरहेको छ भने केही हप्ताअघि मात्रै बंगला एकेडमीसँग पनि यस्तो सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।
 
नेपाली साहित्यलाई अन्य देशका भाषामा र ती मुलुकका साहित्यलाई नेपाली भाषामा अनुदित गरी प्रकाशन गर्ने, अन्तरक्रिया, गोष्ठी, सेमिनार, सभा, सम्मेलन तथा सद्भाव यात्रा  गर्ने सम्झौताअनुसार हालै चिनियाँ साहित्यिक प्रतिनिधि मण्डल नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा नेपाल भ्रमण गरी स्वदेश फर्केलगत्तै  नेपाली प्राज्ञ टोली भारतको साताव्यापी सद्भाव भ्रमण टुङ्ग्याई बुधबार राजधानी फर्केको छ । 
 
साहित्य अकादमी भारतको निमन्त्रणामा गएको प्रतिष्ठानको प्रतिनिधि मण्डलको स्वागतमा अकादमीद्वारा दिल्लीमा आयोजित ‘भारतीय—नेपाली लेखक संवाद’ शीर्षक कार्यक्रममा समकालीन नेपाली साहित्यबारे विशेष परिचर्चा भएको थियो ।  नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुको सम्मानमा सौहार्दपूर्ण वातावरणमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै साहित्य अकादमी भारतका महासचिव डा. के. श्रीनिवास रावले, ‘भ्रमणले दुई देशबीचको भाषा तथा साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने’ दावी गरे । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि मण्डलका प्रमुख तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले समकालीन नेपाली साहित्यका बारेमा प्रकाश पारेका थिए भने उनले भारतीय लेखकहरुले नेपाली  साहित्यका बारेमा राखेका विभिन्न जिज्ञासाहरुको निरुपण गरेका थिए । उपकुलपति घिमिरे नेतृत्वको प्रतिनिधि मण्डलमा प्राज्ञ परिषद् सदस्यहरु प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. उषा ठाकुर, प्रा.डा. ज्ञानू पाण्डे, मातृका पोखरेलका साथै प्राज्ञसभा सदस्य हेमनाथ पौडेल  र प्रतिष्ठान कर्मचारी लक्ष्मी गौतम सम्मिलित थिए ।
 
नेपाली प्रतिनिधि मण्डललाई सङ्गीत तथा नाट्य अकादमी र ललितकला अकादमीका साथै ताजमहल, जयपुर लगायतका प्रसिद्ध स्थलहरुको पनि अवलोकन गराइएको थियो । साहित्य अकादमी भारत र नेपाल प्रज्ञा–प्रतिष्ठानबीच सन् २०१२ मा प्राज्ञिक आदान–प्रदान गर्नेबारे द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यसयता नेपाली प्रतिनिधि मण्डलले तीन पटक भारत भ्रमण र  भारतीय प्रतिनिधि मण्डलले दुई पटक नेपाल भ्रमण गरिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ