arrow

प्रतिगमन विरुद्धको अभियानमा लामवद्ध हुन अध्यक्ष प्रचण्डको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
dahal_g2.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरु एकतावद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन अपील गरेका छन् ।

लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उनले देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको बताएका हुन् । 

प्रचण्डले सन्देशमा भनेका छन्, ‘नेपाली कम्युनिष्ट आन्दोलन वि.सं. २००६ सालदेखि वर्ग-संघर्ष र वैचारिक संघर्षको आरोह-अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हो । महान् लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको हो ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’

तत्कालिन सोभियत संघलाई एकतावद्ध गर्न महान् लेनिनले खेल्नुभएको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत हुने औंल्याउँदै प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने र देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको आवश्यक्ता भएको बताएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ