arrow

आफूलाई जोगाउने तीन एमालेका सांसदलाई मुख्यमन्त्री शाहीको ‘मन्त्री’ उपहार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
mahendra-bahadur-shahi-chief-minister.jpg

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई जोगाउने नेकपा एमालेका तीन कारबाहीमा परेका सांसदलाई मन्त्री पद उपहारमा दिएका छन् ।

उनले मन्त्रिपरिषद् पुनर्गठन गर्दै आफूलाई अविश्वासको प्रस्तावबाट जोगाउने एमालेका तीन सांसदलाई मन्त्री बनाएका हुन् । नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरिएको हो । 

गत शुक्रबार संसदबाट विश्वासको मत लिइसकेपछि नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका शाहीले मन्त्रीमण्डल विस्तार गर्दै आफूलाई बचाउने तीन सांसदलाई मन्त्री बनाएका हुन् । 

शुक्रबारको मतदानमा एमालेका खनाल–नेपाल पक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेर शाहीलाई मतदान गरेका चार जनामध्ये तीन जनालाई मुख्यमन्त्री शाही मन्त्री पद दिएका हुन् । 

चार जनामध्ये प्रकाश ज्वाला भने मन्त्री भएनन् । पार्टीको ह्वीपपछि नै यसअघि राजीनामा दिएका थिए । तर केपी शर्मा ओली पक्षले शाही विरुद्ध अविश्वासको प्रस्ताव गरेपछि चारै जनाले ‘फ्लोर क्रस’ गरेका हुन् । 

ज्वालाले केन्द्रमा माधवकुमार नेपालमाथि कारबाही गरिएकाले त्यसको विद्रोहस्वरुप नै आफूहरुले कर्णालीबाट सन्देश दिएको दाबी गरेका छन् । 

उनले नेतृत्व नसच्चिने हो र आफू लाग्दी तरिकाले पार्टी चलाउने हो भने अन्य प्रदेशमा पनि यही गति हुने दाबी गरेका छन् । 

चारै जनालाई ओली पक्षले कारबाही गरेर सांसद पद खोसेको छ । तीन जनालाई एमाले प्रदेशले नै कारबाही गरेर पार्टीको जिम्मेवारीबाट हटाएको छ भने ज्वालालाई केन्द्रको जिम्मा लगाएको छ । 

यता शाहीलाई जोगाउने नेपाली कांग्रेसका सांसदलाई पनि मन्त्री दिने चर्चा चलिरहेको छ । शुक्रबारको मतदानमा शाही जोगाउन कांग्रेसले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ