जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण शुरू
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
280
Shares
डोल्पा । कर्णाली प्रदेशको बहुप्रतीक्षित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण औपचारिक रूपमा शुरू भएको छ।
आयोजनाको मुख्य संरचनामध्ये सबैभन्दा महत्वपूर्ण मानिने सुरुङ निर्माण प्रारम्भ भएसँगै परियोजनाले कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका-४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गर्दै आयोजना डोल्पा मात्र होइन, समग्र कर्णाली प्रदेशको ऊर्जा उत्पादन, रोजगारी र आर्थिक विकासका लागि महत्वपूर्ण कोशेढुंगा बन्ने बताए।
उनले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढिरहेको आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै त्यसका लागि तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे।
ऊर्जा मन्त्रालयकी सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको सहयोगका कारण आयोजना निर्माणले गति लिएको बताउँदै आगामी काम पनि निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिइन्।
जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको यो आयोजना मुलुककै नमूना जलविद्युत् परियोजनामध्ये एक हो।
उनका अनुसार आयोजनाको पहिलो प्याकेज (लट-१) को काम सम्पन्न भइसकेको छ। कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला-ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त आयोजना विकास गरिरहेको छ।
कम्पनीका अनुसार आयोजनाले विद्युत् उत्पादनमा मात्रै होइन, डोल्पाको पूर्वाधार विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ।
आयोजनाकै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, त्रिवेणी-मुड्केचुला–जगदुल्ला सडकखण्डमा पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण भइसकेका छन्। यी संरचनाले आयोजनाको निर्माणलाई सहज बनाउनुका साथै स्थानीय बासिन्दाको आवागमन, व्यापार र आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पारेको कम्पनीको दाबी छ।
हिमाली तथा दुर्गम जिल्ला डोल्पामा ठूलो क्षमताको जलविद्युत् आयोजना अघि बढ्नु ऊर्जा उत्पादनसँगै स्थानीय पूर्वाधार, रोजगारी र क्षेत्रीय आर्थिक गतिविधि विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
अब मुख्य सुरुङ निर्माणले गति लिएसँगै आयोजना निर्धारित समयभित्र सम्पन्न हुने अपेक्षा पनि बढेको छ।