सोमबार ७७ वटै जिल्लामा कांग्रेसको विरोध प्रदर्शनः देउवा बुटवल, पौडेल धादिङ, गगन चितवन जाँदै
प्रकाशित २०७७ फागुन २ आइतबार
555
Shares
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले घोषणा गरेको तेस्रो चरणको अन्तिम विरोध सभालाई सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
तेस्रो चरणको अन्तिम विरोध सभामा सहभागि हुन सभापति देउवा रुपन्देहीको बुटवल जाँदै छन् । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
यसैगरी नेता कृष्णप्रसाद सिटौलाले झापा, प्रकाशमान सिंहले पोखरा, डा. शेखर कोइरालाले धरान, अर्जुननरसिंह केसीले काठमाडौं, डा.मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदिप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन गर्ने छन् ।
यसअघि तेस्रो चरणको कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम कांग्रेसले १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा र दोस्रो २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा ७७ वटै जिल्लामा गरेको थियो ।
यस्तै अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो ।
दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।