arrow

अन्तिममा भाँडभैलो भए पनि तीन वर्षको अवधि उपलब्धिमूलक रहेको दाबी

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
pradesh-23.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईका प्रदेशसभाको वार्षिकोत्सव मनाइरहँदा भाँडभैलो मच्चिएपनि सत्तापक्ष र विपक्षी दलका नेताहरूले प्रदेशसभाको तीन वर्षको अवधि उपलब्धिमूलक रहेको दाबी गरेका छन्। प्रदेशका प्रदेशसभा सदस्यहरू तीन वर्षको अवधि उपलब्धिमूलक रहेको दाबी गरिरहँदा सभामुख सरोज कुमार यादवले प्रदेशसभा सञ्चालनमा दलहरूको सामञ्जस्यका कारण सहज भएको बताए ।

 प्रदेशसभा स्थापनाको तेस्रो वार्षिकोत्सव समारोहमा तत्कालीन राजपाको तर्फबाट मन्त्री जितेन्द्र सोनाल र फोरमबाट मुख्यमन्त्री लालबाबु राउतलाई मात्र वक्ताका रुपमा बोलाइएपछि समारोहमा भाँडभैलो मच्चिएको थियो । बुधवार सभामुख सरोज कुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रममा मन्त्री सोल र मुख्यमन्त्री राउतलाई मात्र वक्ताका रूपमा बोलाइएपछि अन्य मन्त्रीहरू कार्यक्रम बहिष्कार गरेका थिए।

तीन वर्षको अवधिमा दर्जनौँ कानुनहरूको निर्माण, बाँकी कानुनहरूको निर्माण प्रक्रिया पाइप लाइनमा हुनु ठुलो उपलब्धि नै रहेको प्रदेशसभा सदस्यहरूले प्रतिक्रिया दिए ।  सभामुख यादवले ३ वर्षको अवधिमा कहिल्यै पनि सभा सञ्चालन गर्न असहजता अनुभव नभएको बताउँदै भने,‘३ वर्षमा सहजतापूर्वक नै सभा सञ्चालन गरियो तर नाम र राजधानी नतोकिँदा अलिक दुःख लागेको छ ।'

सभामुख यादवले प्रदेशको नाम र राजधानीका लागि आफूले नै पहल गरेर एक पटक प्रयास गरेको र सोही अनुरूप मतदान भए पनि त्यो प्रयास सफल हुन नसकेको जानकारी दिए।
 
नेपाली काँग्रेसका संसदीय दलका नेता राम सरोज यादवले समेत प्रदेशसभाको ३ वर्षको अवधिलाई सफल नै मान्नुपर्ने बताए । प्रदेशको नाम र राजधानी सत्तापक्षकै हठीपनाका कारण तय हुन नसकेको दाबी गर्दै नेता यादवले अब उनीहरूले कमसेकम राजधानी तोक्न एकमत बनाइसकेको जानकारी दिए ।

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले भनिन्,'दुई तिहाइ बहुमत भएको भए आजको आजै नाम र राजधानी तोक्ने थियौँ ।' तर अन्य दलहरूसँग सहमति गर्नुपर्ने बाध्यताका कारण अहिलेसम्म त्यो निक्र्यौल लाग्न नसकेको उनले स्पष्ट पारिन् ।

नेकपाका प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले भने , ‘प्रदेशसभालाई गतिलो बनाउने काम प्रदेश सरकारकै हो तर त्यसमा प्रदेश सरकार चुकेकै हो ।’ विश्वकर्माले नाम र राजधानीको विषयमा निक्र्यौल नलाग्नुमा समेत सरकार नै दोषी रहेको आरोप लगाए ।

नेपाली काँग्रेसका सचेतक उपेन्द्र कुशवाहकले प्रदेशसभाबाट उनले नाम र राजधानी नतोकिनुको मुख्य कारण मुख्यमन्त्री तथा मन्त्रीहरूकै चलखेल रहेको बताए । नेकपाका शत्रुध्न महतोले समेत प्रदेशसभाको काम कारबाहीको प्रशंसा गर्दै नेकपा पार्टीको आन्तरिक कलहले प्रदेशसभाको कामकारबाहीमा कुनै प्रकारको प्रभाव नपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ