arrow

अग्रवालमाथि अनुसन्धान गर्न अदालतले दियो सात दिनको म्याद

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
courts.jpeg

सर्लाही । वर्षौदेखि उखु किसानको करोडौँ रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (सञ्चालक) राकेश अग्रवाललाई ठगी लगायत मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले प्रहरीलाई बिहीबार पाँच दिनको म्याद दिएकोमा सोमवार फेरी सात दिनको म्याद थपी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले शुक्रबार पाँच दिनको र सोमवार थप सात दिनको म्याद दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । बुधबार साँझ काठमाडौँ त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई आवश्यक कारबाहीका लागि बिहीबार साँझ सर्लाही ल्याइएको थियो ।

अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौँ प्रहरीले सर्लाही पठाएको हो । अग्रवाल विरुद्ध सर्लाहीका ३१ जना किसानले वर्षौँदेखि उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएको र त्यसैको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

अहिलेसम्म ३६ जना किसानले लिखित उजुरी दिनु भएको छ’, प्रहरी उपरीक्षक राठौरले भने, ‘अग्रवाल विरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौँ ।’ अग्रवाल विरुद्ध अझै सयौँ किसानले उजुरी दिने सम्भावना रहेको सर्लाही प्रहरी प्रशासनका अधिकारीको अनुमान छ ।

उद्योगले उपलब्ध गराएको तथ्याङ्क अनुसार किसानलाई १७ करोड रुपैयाँ दिन बाँकी थियो । जसमध्ये हालसम्म १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ भुक्तानी भइसकेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

अन्नपूर्णले दक्षिणी क्षेत्र स्थित बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायत पालिकाका हजारौँ उखु किसानको वर्षौँदेखिको भुक्तानी बाँकी राखेको छ । उद्योगले उपलब्ध गराएको तथ्याङ्क अनुसार त्यति देखिए पनि किसानहरूले दाबी गरेको अझै निकै रकम हुन सक्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ