arrow

उद्योग खोले रगतको खोला बग्छ : स्थानीय, सबैलाई चित्त बुझाएर मात्र खोल्छु : उद्योगी

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ १८ आइतबार
itta-bhatta.JPG

झापा । झापाको कमल गाउँपालिका वडा न १ स्थित रतनचौन बासीहरुले आफ्नो गाउँमा ईटाभट्टा खोल्न नदिने बताउदै आइरहदा भट्टा व्यवसायीले भने आफ्नो भट्टा पुरानो प्रबिधिको नभएर नयाँ आधुनिक प्रविधियुक्त ईटा उद्योग हुने बताउदै आएका छ्न । गत बुधबार रतनचौन टोल विकास समितिले एक पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय वासिन्दाहरूले ईटाभट्टाको बिरुद्धमा ज्यानको बलिदान दिन तयार रहेको बताएका थिए ।

उक्त भेलामा वडाध्यक्ष देखि स्थानीय बुढापाका, महिला,वालबालिका सहितको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा उपस्थित सबैको एउटै आवाज थियो-ईटाभट्टाले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकोले मानव बस्तीको बीचमा ईटाभट्टा खोल्न दिनु भनेको आफ्नो हत्या आफै गर्नु जस्तै हो ।

 कमल १ का वडाध्यक्ष केदार कट्वालले उद्योग स्थापनाका विषयमा वडा कार्यालयमा कुनै सूचना नआएको बताएका छ्न । उनले प्रदुषण युक्त उद्योगको विरुद्धमा स्थानीय बासिन्दालाई आफ्नो साथ सहयोग रहेको बताए । वडाध्यक्ष कट्वाल भन्छ्न, 'उद्योगीले आफ्नो नीजि जग्गा हो भन्दैमा स्थानीय सरकार र सरोकारवालाहरू र सँधियारहरूलाई वेवास्ता गरेर भट्टा सञ्चालन गर्न पाउनु हुन्न ।' कानूनी प्रकिया पुरा गरेर कुनै उद्यान, कृषि उद्योग, पशुपालन वा अरु प्रदुषण नगर्ने प्रकार उद्योग खोल्न वडाध्यक्षको सुझाव छ ।

स्थानीय वृद्ध तुलसीराम दङ्गालले २०७३ कात्तिक ९ गते तत्कालिन तोपगाछीबाट ईटाभट्टा खोल्न स्थानीयको सहमति माग भएको बताए ।तर, त्यसैबेला हालका वडाध्यक्ष केदार कट्वालको अगुवाईमा स्थानीय ३२० परिवारको हस्ताक्षर सहित घरेलु उद्योग कार्यालय झापामा असहमति पत्र बुझाएको बताए । उनले स्थानीयको असहमति हुँदा हुँदै भट्टा खोले रगतको खोलो बगाउन तयार रहेको बताए ।

रतनचौन टोल विकास समितिका अध्यक्ष सन्तोष कट्वालले साढे ३ सय परिवारको उठिबास हुने गरी कुनै पनि हालतमा भट्टा खोल्न नदिने बताएका छ्न । उनले गाउँपालिका उपाध्यक्ष बेणुप्रसाद शिवाकोटीले पनि अब प्रतिकारमा उत्रनु भनेको बताएका छ्न । उनले स्थानीय नागरिक प्रतिकारमा उत्रिदाँ हुने क्षतिको जिम्मा उद्योगीले नै लिनु पर्ने बताए ।

उता उद्योग सञ्चालनको तयारीमा रहेका ब्यवसायी गुणराज थापा कानूनी प्रक्रिया नपुर्‍याई उद्योग नखोल्ने बताउदै आएका छ्न । यो उद्योग ‘हाइव्रेड हप मल्टिक्लिन ’ प्रविधिको उद्योग भएकाले वातावरण मैत्री हुने बताए । गरिमा टायल्स प्रालि नामको उद्योगले स्थानीय ३० जनालाई रोजगार दिने उनको भनाई छ ।

२५ करोड रुपैयाँको लगानीमा सुरु हुने उद्योगले दैनिक ५० हजार ईटा उत्पादन गर्नेछ । यति ठूलो प्रविधि मैत्री उद्योग खुल्दा त्यहाँका वासिन्दाको आर्थिक रुपान्तरणमा सहयोग पुग्ने थापाको भनाई छ । अहिलेको आन्दोलनले वातावरण र मानव स्वास्थ्यको कुरा गरेर सर्वसाधरणको ध्यान खिचिरहेको छ ।

 स्थानीय सरोकारवाला, साँध ,सधियार र स्थानीय सरकारको स्वीकृति लिएर मात्र उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको उद्योगी गुणराज थापा बताउछ्न् । उनको भनाई छ, 'नबुझेर केही मानिसहरू उफ्रिएका छन् । म सबैलाई चित्त बुझाएर मात्र उद्योग खोल्छु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ