arrow

चार वर्षयताकै ठूलो सभा र जुलुससहित ओलीको असंवैधानिक कदमविरुद्ध गर्जदै प्रचण्ड–नेपाल समूह

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
prachanda-madhav-all.jpg

काठमाडौं । चार वर्ष यता काठमाडौमा कुनैपनि प्रकारका ठूला सभा र जुलुश नभएको अवस्थमा नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा एक लाख भन्दा बढी मानिसका बीचमा आमसभा गरेर सरकारलाई प्रतिगमनविरुद्ध खबरदारी गर्दैछ । प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले त्यसका लागि सम्पूर्ण तयारी पूरा गरी शुक्रबार ९ स्थानबाट सडक अवरुद्ध पारेर विरोध प्रदर्शन र सभा गर्दैछ । 

गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शनको आयोजना गरेको भएपनि त्यो त्यतिधेरै प्रभावकारी नभएको निष्कर्षसहित शुक्रबार भने प्रभावकारी रुपमा सभाको आयोजना गर्न लागेको हो । शुक्रबारको प्रदर्शनमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब एक लाख भन्दा बढी मानिस काठमाडौं उतार्ने तयारी गरेको केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिएका छन् । 

काठमाडौंमा विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने र पुरानो बसपार्कअगाडि सभामा परिणत हुने सङ्घर्ष समितिले तयारी गरेको छ । ती सबै जुलुश स्थायी कमिटी सदस्यहरुको नेतृत्वमा निस्कने भएका हुन् । 

माइतीघरबाट निस्कने जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लिलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडाले नेतृत्व गर्नेछन् । डिल्लीबजार, चारखालबाट निस्कने जुलुसको नेतृत्व वर्षमान पुन र बेदुराम भुसालले गर्नेछन् । लैनचौरबाट निस्कने जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले नेतृत्व गर्नेछन् ।

त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेलले गर्नेछन् । कुपन्डोलबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दकुमार थापाले गर्नेछन् । प्रदर्शनी मार्गबाट निस्कने जुलुसको नेतृत्व घनश्याम भुसाल र जनार्दन शर्माले गर्नेछन् । 

शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ र सहसंयोजक योगेश भट्टराइले गर्नेछन् । त्रिचन्द्रबाट निस्कने विद्यार्थीको जुलुस देवप्रसाद गुरूङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, हितमान शाक्यले गर्नेछन् । 

बाल्मिकी क्याम्पस अघिल्तिरबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्नेछन् । यसरी निकालिएको जुलुश भृकुटीमण्डपमा पुगेपछि आमसभामा परिणत हुने भएको छ । आमसभालाई अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी विभाजनपछि यो सभा नै विशाल हुने आयोजक नेताहरुले जनाएका छन् । त्यसको तयारीस्वरुप राजधानी बिहीबार साँझ मसाल जुलुश प्रर्दशन गरिएको थियो । मसाल जुलुशलाई प्रहरीले हस्तक्षेप गरेको भए पनि कोही पनि घाइते भने भएका छैनन् । मसाल जुलुशका लागि आवश्यक पर्ने सबै सामाग्रीहरुको जोहो पेरिसडाँडामा गरिएको थियो । पेरिसडाँडामा सबैजसो जनवर्गीय संगठनहरुको भेला गरी शुक्रबारको तयारीको बारेमा जानकारी लिइएको थियो । 

जनवर्गीय संगठनहरुलाई सुरेन्द्र पाण्डे, सूर्य सूवेदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । बिहीबार दिउँसो नै नारायणकाजी श्रेष्ठ र योगेश भट्टराइले संयुक्त पत्रकार सम्मेलन गरेर जुलुशमा सहभागीहरुले लगाउने नारा सार्वजनिक गरेका थिए । यसअघि पुस ९ गतेको जुलुशमा सहभागीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील नाराबाजी गरेपछि बिहीबार नै पार्टीले तोकेको नाराबाहेक अन्य नारा लगाउन नपाइने निर्देशन दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ