गणतन्त्रका पक्षमा पार्टीमा सबै उभिंदा फरक मत राख्ने ओली एक मात्रै : माधव नेपाल
प्रकाशित २०७७ माघ ६ मंगलबार
907
Shares
काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा एमालेको बैठकमा केपी ओलीले गणतन्त्रको पक्षमा सबै उभिंदा एक्लै विपक्षमा फरक मत राखेको दाबी गरेका छन ।
मंगलबार आफू पक्षिय पत्रकारहरुको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले ओली गणतन्त्र पक्षधर नभइ गणतन्त्रको विरोधी भएको बताउँदै त्यस्तो दाबी गरेका हुन ।
‘ओलीजी कहिल्यै गणतन्त्रको पक्षमा उभिनु भएन, उहाँले एमालेको बैठक हुँदा पनि गणतन्त्र आउँदै आउँदैन भनेर पार्टीमा फरक मत राख्नु भएको थियो, त्यसबखत फरक मत राख्ने उहाँ मात्रै हो,’ नेकपा अध्यक्ष नेपालले भने ।
ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिसक्दा पनि त्यही पद ओगटीरहेको भन्दै नेपालले उनी काम चलाउ भइसकेको बताए ।
प्रतिनिधि सभा विघटनपछि विभाजित बन्न पुगेको नेकपाको दाहाल-नेपाल समूहले ओलीलाई सोमबार मात्रै स्पष्टीकरण पत्र बुझाएको छ । पत्रमा चित्तबुझ्दो जवाफ नदिए र नसच्चिए साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने सो समूहको तयारी छ ।