arrow

प्रचण्ड–नेपालले ओलीविरुद्ध उपत्यकामा एक लाख बढी कार्यकर्ता उतार्ने 

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
prachanda-madhav-all.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले माघ ९ गते काठमाडौं उपत्यकामा एक लाख भन्दा बढी कार्यकर्ता उतारेर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध प्रदर्शन गर्ने भएको छ । बाग्मती प्रदेशको मात्रै कार्यक्रम भनिएको सो विरोध र्यालीमा एक लाख भन्दा बढी कार्यकर्ता उतार्ने योजना रहेको जनाइएको छ । 

आन्दोलन तथा संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईका अनुसार आन्दोलनमा उपत्यकाभित्रका मानिसहरुको धेरै सहभागिता हुनेछ । उनका अनुसार कार्यक्रम शान्तिपूर्ण तर सशक्त हुनेछ । ‘हाम्रो राजनीतिक माध्यम नै शान्तिपूर्ण हो । हतियारवद्ध होइन । हाम्रो सिद्धान्त पनि हिंसात्मक होइन । आन्दोलनमा बढीभन्दा बढी मानिसलाई संगठित बनाउँदै प्रतिनिधि सभा विघटनविरुद्ध अघि बढिरहेका छौं’, प्रवक्ता भट्टराइले भने । 

उनले  शान्तिपूर्ण रुपमा जुलुस, प्रदर्शनलगायत विभिन्न शैलीका विरोधदेखि अवज्ञासम्मको कार्यक्रम आउने जनाएका छन् । उनका अनुसार पार्टीले प्रदेशका प्रमुख शहरहरुमा ठूलाठूला आमसभाको आयोजना पनि गर्नेछ ।  ‘माघ ९ गते काठमाडौं, माघ १५ गते बुटवल र माघ १६ गते विराटनगरमा ठूला विरोध सभाको आयोजना गरिने छ’, उनले भने ।

माघ ९ गतेको तयारीका लागि प्रचण्ड–नेपाल निकट समूहले मंगलबार दिउँसो प्रेस संगठनको राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्दैछ । साथै सबै जनवर्गाीय संगठनहरुलाई काठमाडौंमा मानिसहरु ल्याउन आग्रह गरेको छ । 

राष्ट्रिय युवा संघ नेपाल तथा अन्य जनवर्गीय संगठनहरुलाई पनि परिचालन गरेको छ । त्यसका अतिरिक्त ७७ वटै सम्पर्क मञ्चहरुलाई समेत मानिसहरु ल्याउन निर्देशन दिइएको छ । 

माघ ९ गतेअघि नै प्रधानमन्त्री ओलीलाई पार्टीबाट निष्कासन गर्ने तयारीसमेत भएको छ । ओलीलाई निष्कासन गर्नका लागि सोमबार बालुवाटार गेटमा पुगेर उनलाई तीन दिने स्पष्टिकरण पत्र सोधिएको छ । सो पत्र बोकेर स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए । उनीहरुले पत्र गेटमै बुझाएर फर्केका छन् । पत्र बुझाएको तीन दिनभित्र स्पष्टिकरण नदिए पार्टीबाटै निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ । यसअघि अध्यक्ष पदबाट भने उनीहरुले हटाइसकेका छन् । 

ओलीको भ्रम चिर्न कार्यकर्तालाई प्रचण्ड–नेपालको निर्देशन  
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले भ्रम फैलाएका कारण त्यसलाई चिर्न आफूपक्षीय नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सोमबार कार्यकर्ताहरूलाई अपिल जारी गर्दै प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले संविधानमाथि ’कू’ गरेर प्रतिनिधि सभा विघटन गर्दा पनि उल्टै भ्रम पार्न खोजेको भन्दै चिर्न निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरे जस्तो प्रतिनिधिसभा जुनसुकै बेला विघटन गर्न पाउने विशेषाधिकार प्रधानमन्त्रीलाई यो संविधानले दिएको छैन तर, प्रधानमन्त्री सोह्रै आना झुट बोलेर संविधानको गलत व्याख्या र परिभाषा गर्दै हिँडिरहेका छन् । आफूमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेका छन्,’ सो अपिलमा भनिएको छ । 

राष्ट्रपतिबाट देश, जनता र संविधानमाथि के कस्तो आघात पर्छ भन्ने सोच्दै नसोची प्रधानमन्त्रीको सिफारिसलाई सदर गरिएको भन्दै प्रचण्ड–नेपालले आपित्त जनाएका छन् ।  

‘नेपाली जनताको दशकौंको बलिदानपूर्ण संघर्षको परिणामस्वरुप हामी देशमा निरंकुश राजतन्त्रलाई समाप्त गरी सामन्तवादको राजनीतिक आधारलाई उन्मूलन गर्न सफल भयौं । नेपाली जनताद्वारा आफ्नो सार्वभौमसत्ताको अभ्यास गरी संविधानसभाबाट नेपालको संविधान निर्माण गर्दै ऐतिहासिक राजनीतिक परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरियो । नेपाली जनताले कम्युनिष्ट पार्टीको सिद्धान्त, कार्यक्रम र घोषणापत्रलाई विश्वास गरेर प्रतिनिधिसभामा अत्यधिक मत (झण्डै दुई तिहाई) दिए । हाम्रो पार्टीप्रति जनताको यस्तो विश्वास कायम गराउनका लागि लाखौं कार्यकर्ताको अमूल्य श्रम, त्याग–तपस्या खर्च भएको छ’, सो अपिलमा भनिएको छ । 

त्यसैगरी लाखौं कार्यकर्ताले जीवनका सुन्दर दिनहरु पार्टी निर्माणमा लगाएको र  यो पार्टी निर्माणमा हजारौं शहीदहरुले आफ्नो जीवनको बलिदान दिएको उल्लेख गर्दै सो समूहले राष्ट्रियताको सुदृढीकरण, लोकतन्त्र र जनजीविकाको प्राप्तिको निम्ति भएको संघर्षमा प्रगतिशील समुदायले सदैव साथ दिएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ