arrow

‘प्रधानमन्त्री गणतन्त्र ध्वस्त पार्नुपर्छ भन्ने मान्छे हो उहाँको पछि लागिन्न’ –चित्रबहादुर केसी

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओलीले संसद विघटन गरेर गणतन्त्रलाई नै संकटमा पारेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री गणतन्त्र ध्वस्त पार्नुपर्छ भन्ने मान्छे हो उहाँको पछि लागिन्न ।’

उनले आफ्नो पार्टी संसद विघटनको विरोध गर्दै पुनःस्थापनाका लागि लागेको भन्दै प्रधानमन्त्रीलाई चुनावका लागि साथ नदिने पनि बताएका छन् । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले भने, ‘प्रधानमन्त्रीको गलत कदममा साथ दिइन्न ।’ प्रधानमन्त्रीले चुनावमा होमिन गरेको आग्रहलाई उनले भने, ‘संसदमा हुँदै नभएको कदम चालेर विघटन गर्नु इतिहासकै कालखण्डमा गलत कदम हो । कानूनले विघटन गर्न नै दिँदैन ।’
 
ओलीको बानीबारे उनले भने, ‘आफ्नो घरको झगडा समाधान गर्न नसक्ने मान्छेले संसारलाई हँसाएको छ ।’ गुटगत स्वार्थलाई समाधान गर्न नसक्दा प्रजातन्त्रलाई ध्वस्त पार्न खोज्नुभयो ।’

थप स्पष्ट पार्दै अध्यक्ष केसीले भने, ‘२०७२ सालको संविधानमा धेरै समय खर्च गरेर संसद विघटन गर्न नपाइने नियम बनाइएको थियो । तर अन्य देशको संसदको आड लिएर संसद विघटन गर्न पाइन्छ ?’

लोकतन्त्र, गणतन्त्र, राष्ट्रियताका विरोधीहरुको कित्ता छुट्टिएको भन्दै लोकतन्त्रका लड्ने शक्तिको कित्ताकाट भएको उनले बताए । हरेक दलमा कित्ताकाट भइसकेको उनको ठम्याइ छ । 

संसद पुनःस्थापना हुनै पर्ने भन्ने उनले आफूहरु सिद्धान्तको लडाइँमा जहाँ पनि रहने बताए । प्रचण्ड–नेपालले थालेको संसद पुनःस्थापनाको आन्दोलनमा साथमा रहेको भन्दै केसीले देशलाई फाइदा हुने आन्दोलनमा आफूहरु सधै लडेको बताए । 

ओलीले नाकाबन्दीमा अडान लिँदा साथ दिएको, संविधान निर्माण गर्ने बखतमा साथ दिएको तर नराम्रो काम गर्दा ओलीलाई कहिल्यै साथ नदिने उनले बताए । उनले भने, ‘उहाँले आफूले पद छोडेर भए पनि संसद विघटन गर्नु हुँदैनथ्यो ।’

देशभर भइरहेका गणतन्त्र विरोधी अभियानका विरुद्धमा जनमोर्चाले आन्दोलनको एकता गरेर जाने पनि बताए । 

उनले संघीयताको आफूहरुले पहिलेदेखि नै विरोध गरेको भन्दै यो असफल हुँदै गएको पनि बताए । उनले भने, ‘२४ पार्टी एकातिर हुँदा पनि हामीले संघीयताको विरोध गरेका थियौं । अहिले यो असफल भएको देखिइसकेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ