arrow

इलामको हिलेमा भारतीय एसएसबीको ‘दादागिरी’, प्रतिकारमा उत्रिए स्थानीय

logo
प्रकाशित २०७७ पुष २० सोमबार
SSB-Ilam.jpg

काठमाडौं । इलामको सूर्योदय नगरपालिका-२ पशुपतिनगर हिलेमा भारतीय सीमा सुरक्षा बल एसएसबीले रातारात पिलर गाडेपछि स्थानीयले प्रतिकार गरेका छन् ।

मध्य राती स्थानीयबासी सुतेको मौकामा एसएसबीले पिलर गाड्दै गरेको थाहा पाएपछि प्रतिकार गरेको स्थानीय शिक्षक तथा सामाजिक अगुवा जीवन शर्माले जानकारी दिए ।  उनले भने, ‘पिलर गाड्दै गरेको अवस्थामा स्थानीयबासिन्दाले अबरोध गरेको र नेपाली सुरक्षाकर्मीलाई जानकारी गराइएको हो ।’

एसएसबीले नेपालतर्फको घरको पछाडी पिलर गाड्ने प्रयास गरेपछि स्थानीयले प्रतिकार गरेका थिए । त्यसपछि भारतीय पक्ष पछाडी हटेको थियो ।

पशुपतिनगर स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुका अनुसार भारतीय पक्षले जिपिएसका माध्यमबाट उक्त भूमि आफ्नो भन्ने दाबी गर्दै बाँस रोपेको तर स्थानीयले उखेलेर हटाएको बताए ।  

घट्ना स्थलमा पुगेको शसस्त्र प्रहरीबल र नेपाल प्रहरीको टोलीसँग एसएसबीको कदमको विरुद्ध छानबिन गर्न माग राखेपछि दुवै पक्षको बैठक बसेको छ । सोमबार विहान बसेको दुवै पक्षका सुरक्षा निकायबीचको बैठकले आगामी दिनमा यस्ता गतिविधि रोक्ने र केही गर्नुपरे दुवैपक्षको संयोजनमा अघि बढ्नुपर्ने समझदारी भएको लिम्बुले जानकारी दिए ।

बैठकमा शसस्त्र प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक नविन खतिवडा, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देउप्रसाद लिम्बु साथै भारतीय सुरक्षा बलका प्रतिनिधिबीच सीमा क्षेत्रका गतिविधि रोक्ने सहमति बनेको हो ।

हिलेमा यसअघि पनि पटक पटक सीमा विवाद हुँदै आएको छ । खुल्ला सीमाका कारण भारतीय सुरक्षा बल आफूखुशी नेपाली भूमिमा प्रवेश गर्ने र सीमा अतिक्रमण प्रयास गर्ने गरेको स्थानीयको दुखेसो छ । भारतीय पक्षबाट सीमामा नयाँ कमाण्डर खटिएर आउने वित्तिकै सीमा अतिक्रमणको प्रयास हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ