arrow

दाहाल नेपाल समूहमा शुरुमै समस्या

दाहाल-नेपाल समूहमा उपसमूहहरु हावी, संकट निम्तिने खतरा

सत्तारुढ नेकपामा ओलीको एकल राज

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
nepal-dahal-central-committee.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन भएपछि प्रधानमन्त्री ओलीतिर उनी नै एकमात्र मियो भएका छन्। त्यहाँ तत्काल कुनै गुट वा समूह देखा परेको छैन । तर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहतिर भने स्पष्ट दुई गुट देखिएका छन् । पूर्व माओवादी समूह र पूर्व एमालेको समूहमा स्पष्ट दुई गुट देखिएको हो । पूर्व एमालेबाट माधवकुमार नेपालले नेतृत्व गरिरहेका छन् भने पूर्व माओवादीबाट प्रचण्डले नै नेतृत्व गरिरहेका छन् । तत्कालिन एमालेका युवा तथा प्रभावशाली नेताहरुसहितको प्रचण्ड नेपाल समूह बनेपछि पार्टीभित्र स्पष्टै दुई गुट सञ्चालन हुने अवस्था आएको हो । तत्कालिन एमालेका नेताहरु विभाजनपछि पनि पहिला आफ्नो समूहका नेताहरुसँग छलफल गरेपछि मात्रै आफ्ना धारणा बनाउन थालेका छन् । उनीहरुले माधव नेपाल र झलनाथ खनाल दुवैलाई भेटघाट गरेर अघि बढ्ने निकर्ष निकाल्दै बैठक र भेलाहरु गरिरहेका छन् । 

पूर्व माओवादीहरुले पनि यतिबेला आफ्नो समूहलाई मात्रै बैठक भेलामा बोलाउने गरेका छन् । उनीहरुले पूर्व एमालेलाई बोलाउने गरेका छैनन् । पार्टी एकिकरण भएको तीन वर्षसम्म घुलमिल हुन नपाई विभाजन भएपछि पूर्व एमाले र पूर्व माओवादी समूह आ–आफ्नै समूहबाट सञ्चालित हुन थालेका छन् । शीर्ष नेताहरुमा समस्या नभएपनि केन्द्रीय कमिटीको तहसम्म आइपुग्दा स्पष्टै दुई वटा गुटका भेला र छलफल दुवै फरक फरक ठाउँमा हुने गरेका छन् । पूर्व एमालेको तर्फबाट गरिने प्रारम्भिक छलफल भने वानेश्वरको अर्याल होटलमा हुने गरेको छ । पूर्व माओवादीको भने सिधै प्रचण्ड निवास खुमलटारमा हुने गरेको छ । दुवै समूहको आपसी छलफलपछि मात्रै शीर्ष बैठकमा एजेण्डा तय हुने गरेको छ । ‘दुवै समूहले आफ्नो आफ्ना निकट नेताहरुसँग छलफल गरेर मात्रै बैठकमा सहभागी हुने गरेका छन’, प्रचण्ड नेपाल निकट रहेका एक नेताले भने । उनका अनुसार यस्तै अवस्था आए प्रचण्ड -नेपाल समूहमा असन्तोष पैदा हुनेछ । 

‘पहिला पूर्व माओवादीमा पनि साना झुण्डहरु थिए ती विस्तारै बाहिरिदा पार्टी खिइएको थियो । अहिले पूर्व एमालेको ठूलो समूह र पूर्व माओवादीको झण्डै ८० प्रतिशतको समूह मिलेको अवस्था छ तर एकले अर्कालाई पेल्नेक्रममा दुवै समूहबाट नेता कार्यकर्ता हराउने र चोरिने क्रम बढ्यो भने यो समूहपनि खिइने संभावना कायमै छ’, ती नेताले भने ‘भोलिका दिनमा पूर्व एमालेहरुले मात्रै पार्टी सञ्चालन गर्ने वा पूर्व माओवादीहरुले मात्रै पार्टी सञ्चालन गर्ने अवस्था आउनेछ ।’

तर प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूहमा भने ओलीमात्रै ‘वान म्यान लिडरशिप’को रुपमा अगाडी बढेको देखिन्छ । ओली समूहमा ईश्वर पोखरेल, रामबहादुर थापा वादल, सुवास नेम्वाङ लगायतका केही नेताहरु देखिएपनि उनीहरु सबै ओलीको बोलीमा विश्वास गर्ने तहमा पुगेका छन् । तत्काललै रामबहादुर थापालाई ओली पक्षले कुनै पद दिएको नदेखिएपनि उपाध्यक्ष बनाउने संभावना बढेको छ । ‘बादलको व्यवस्थापन जसरी पनि गर्छौ भनेर ओलीका विश्वासपात्रले प्रतिबद्धता गरेका कारण उहाँ त्यता लाग्नु भएको हो’, बादल निकट एक नेताले भने । उनका अनुसार त्यहाँ पूर्व माओवादी समूहको नेतृत्व गर्ने भएपनि प्रभावशाली नहुने देखिएको छ । टोपबहादुर रायमाझी, मणी थापा, दावा लामा लगायतका केही नेताहरुको नेतृत्व बादलले गर्नेछन् । तर ओली समूहले उनीहरुलाई सहजै व्यवस्थापन गर्ने भएकाले त्यहाँभित्र कुनै ‘हार्डलाइनर’ गुट नहुने अवस्था देखिएको हो । विभाजित प्रचण्ड नेपाल समूहमा भने कडा गुटबन्दी हुने अवस्था देखिएको छ । त्यहाँ नारायणकाजी श्रेष्ठको पनि सानो गुट हावी नै रहेको छ । त्यस्तै पछिल्लो पटक बादलबाट विभाजित भएको अर्को गुटपनि त्यहाँ हावी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ