arrow

कांग्रेसद्धारा देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ शान्तिपूर्ण सहभागीताका लागि अपील 

देउवा भन्छन्– शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? 

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
sher-bahadur-deuba.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारको देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेका छन् । 

प्रेस विज्ञप्ति जारी गर्दै देउवाले ‘मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेको’ भन्दै ‘यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुसँगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु’ भनेका छन् । 

उनले भनेका छन्, ‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो ।’

सोमबारको प्रदर्शन गर्नुको कारण खुलाउँदै देउवाले लेखेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’

उनले शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गर्दै भनेका छन्, ‘प्रदर्शनको तयारीमा जुट्नुभएका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन म अपील गर्दछु । कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु ।’

सरकारको गलत प्रवृत्तिबारे उजागर गर्दै देउवाले भनेका छन्, ‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’

उनले अगाडि लेखेका छन्, ‘तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी छ । ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको छ । कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ ।’

देउवाले लामो प्रेस विज्ञप्ति जारी गर्ने क्रममा लेखेका छन्, ‘कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार । बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज । खेतिको बेला मल नपाएर छट्पटिएको किसान । लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक । ब्यापार ठप्प हुंदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती ब्यहोरिरहेका साना ब्यवसायी  देखि ठुला उधोगीसम्म । रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदुर संभावना नदेखिरहेको युवा । शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिला देखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन्, प्रश्न बोकि रहेका छन् र आक्रोश पोखिरहेका छन् । यी सबैको पिडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ । नेपाली जनताको हरेक क्षेत्र, बर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्नेछ ।’

सांकेतिक प्रदर्शनबारे उनले लेखेका छन्, ‘मुलुकलाई हरेक चुनौतीको घडिमा निकास र नेतृत्व दिएको दल हो नेपाली कांग्रेस । आज प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा कांग्रेस गम्भीर छ । भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ । भोलिको प्रदर्शनमा एकता, जांगर र नवीन उत्साह साथ सहभागी हुन म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुसंगै समस्त लोकतन्त्रवादीमा फेरिपनि हार्दिक अपील गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ