arrow

अठार सालमा बमकाण्डमा पक्राउ परेका प्रजातन्त्र सेनानी श्रेष्ठ रहेनन्, के हुन्छन् कांग्रेसका कार्यक्रमहरु ? 

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
shyamlal-shrestha-nc-died.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ । उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।
 
लोकतन्त्रका लागि आफूलाई उत्सर्ग गर्न पनि पछि नपर्ने सरल र शालिन व्यक्तित्व श्रेष्ठको निधनप्रति काँग्रेस केन्द्रीय कार्यालयले दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

स्व श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
 
साथै मङ्सिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ ।

मङ्सिर २९ गतेका लागि पूर्वनिर्धारित ७७ जिल्लामा हुने विरोध प्रदर्शनको आन्तरिक तयारीसँग सम्बन्धित कार्यहरु भने सूचारु रहने मुख्य सचिव पौडेलले जानकारी दिए ।
 
यसैगरी काँग्रेसको सङ्घीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पनि शोक वक्तव्यमार्फत नेता श्रेष्ठको निधन प्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेका छन् । 

उनी विसं २०१८ मा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका थिए । 
 
नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन–संघर्षका क्रममा उनले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन बिताएका थिए । 

३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्य थिए । 
 
श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको सभापति थिए । 

स्व श्रेष्ठ राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थिए । विसं २०७२ मा उनलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित गरिएको थियो । स्व श्रेष्ठका एक छोरा र तीन छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ