आठ वर्षीया बालिका करणीको प्रयास गर्ने युवकलाई पाँच वर्ष कैद
प्रकाशित २०७५ पुष ३० सोमबार
422
Shares
सप्तरी । आठ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले आइतबार एक युवकलाई पाँच वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलासले राजगढ गाउँपालिका–४ कमलपुरका १९ वर्षीय महमुद मियाँलाई पाँच वर्ष कैदको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए। सोही आरोपमा मुछिएका १३ वर्षका दुई बालकलाई भने अदालतले सफाइ दिएको छ ।
बाख्रा चराउन गएकी बालिकालाई नजीकैको नहरमा नुहाउन लगेर सामूहिक रुपमा बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीद्वारा घटना भएकै दिन ०७३ साल भदौ १५ गते पक्राउ परे पनि अदालतले नाबालक भन्दै भोलिपल्टै तीनै जनालाई छाड्ने आदेश दिएको थियो । आरोपित महमुदको उमेर १९ वर्षको प्रमाणित भएपछि प्रहरीले पुनः एक सातापछि पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपित महमुद १५ हजार धरौटीमा ०७३ साल असोज १२ गते रिहा भएका थिए । जिल्ला अदालतले आइतबार बलात्कार नभई बलात्कार प्रयास भएको पुष्टि गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेपछि आरोपित फरार भएका छन् ।