‘लोकतन्त्र जोगाउन प्रश्न गर्ने अटेरतन्त्रको वकालत’
प्रकाशित २०७५ पुष २० शुक्रबार
802
Shares
काठमाडौं। सरकार र पार्टी नेतृत्व एकलौटी मनमौजी ढंगले अघि बढेको भन्दै सत्तारुढ नेकपामा केही शीर्ष नेताहरु रन्थनिएका छन् । त्यही दशा नेपाली काँग्रेसभित्र पनि बौरिने गरेको भन्दै संस्थापन इतर पक्षका नेताहरुको आक्रोस निरन्तर सुनिँदै आएको छ । सबैजसो दलभित्र आन्तरिक लोकतन्त्रको बहस पेचिलो बन्दै गरेको छ ।
लोकतन्त्रको मर्म कोट्याउँदै चिन्तक प्रदीप गिरीले हाम्रो लोकतन्त्रको सिद्धान्त ‘अटेरतन्त्र’ तिर लम्किन पर्ने टिप्पणी गरे ।
समाजशास्त्री दिनेश प्रसाईले लोकतन्त्रलाई बचाउने हो भने अटेरी जमात बढाउँदै अटेरतन्त्र तर्फ जानका लागि गरेको वकालतलाई समर्थन गर्दै गिरीले भने ‘हाम्रो लोकतन्त्रको सिद्धान्त ‘अटेरतन्त्र’मा आधारित हुनुपर्छ। हरेक कुरालाई प्रश्न गर्नुपर्छ। गौतम बुद्धले पनि भनेका थिए, प्रश्न नगरी हुँदैन। बुद्धले भनेको भन्दैमा मेरो कुरा नमान। मार्क्सलाई समेत सबैभन्दा मन परेको वाक्य हो, ‘डाउट एभ्रिथिङ।‘ त्यसैले सबै कुरालाई प्रश्न गर्ने संस्कृति लोकतन्त्रको मर्म हो।
सबै कुरामा प्रश्न गर्ने संस्कृति नै लोकन्त्रको मूल मर्म हुनु पर्नेमा पछिल्लो समय प्रश्न उठाउनै नपाउने अबस्था देखिन थालेकोमा उनको चिन्ता थियो । लोकन्त्रलाई यतिबेला मतदान गर्न पाउने अधिकारमा मात्रै मूल्यांकन गर्न थालिनु दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे ।
लोकतन्त्रको पहिलो परिभाषा जिम्मेवारी सहितका प्रतिनिधि हो। आज हेर्नुहोस्, यहाँ जिम्मेवार को छ? जिम्मेवारी बोध गरेर राजीनामा दिएको छ कि? संसद्मा ठीक ढंगले बोलेको छ कि? संसद्मा चुट्किला हालेर हाँसोठट्टा मात्रै गरेको छ कि? यो कुरा ओलीजी (प्रधानमन्त्री केपी ओली)लाई मात्रै होइन, शेरबहादुरजीलाई पनि लागू हुन्छ र मलाई पनि लागू हुन्छ।
लोकतन्त्र निरन्तर चल्ने र परिस्कृत हुँदै जाने विषय हो, हुनुपर्छ । तर नेपाली समाजले भोग्दै र अनुभव गर्दै आएको राज्य व्यवस्थामा आम जनताले वास्तविक लोकतन्त्रको स्वाद लिन पाएका छैनन् ।
त्रिभुवन बिश्वविद्यालयका समाजशास्त्रीहरुको संस्था ‘समाजशास्त्रीय समाज नेपाल’ले नेपालमा लोकतन्त्रको विषयमा बहस छेडेको छ । ‘नेपालमा लोकतान्त्रिकण प्रकृया: संवाद श्रृंखला’ शुरु गरको संस्थाले हामीले चाहेको लोकतन्त्र विषयमा औपचारिक रुपमा पहिलो बहस चलाएको छ ।
त्रिभुवन विश्वविद्यालयको सीनास हलमा बिहीबार आयोजित बहसमा भाग लिँदै चर्चित समाजशास्त्रीहरुले मुलुकमा लोकन्त्रिक बहसलाई अझै प्रभावकारी ढंगले अगाडी बढाउन अपरिहार्य हुँदै गएको औंल्याए । सीनासका अध्यक्ष समाजशास्त्री सन्ध्या बस्नेतले भनिन् – ‘४० को दशकदेखि नै समाजशास्त्रको पठन पाठन हुनथाले पनि आम जनमानसमा समाजशास्त्रसँगै लोकतान्त्रि मूल्य मान्यताको प्रभाव स्थापित हुन नसकेकोले अब राजनीतिक रुपमै समाजशास्त्रलाई लोकतन्त्रसँग जोडेर बहस चलाउनु पर्ने आवश्यकता बनेको हो ।‘
समाजशास्त्री दिनेश प्रसाईंले, समाजशास्त्र सम्बन्धी ज्ञान विज्ञानका कुरा मात्रै उठान भयो भन्ने लागेर समाजले जनताका कुरा पनि लोकतन्त्र र समाजशास्त्रसँग जोडेर मुद्दा उठाउने उद्देश्यले मासिक रुपमा लोकतान्त्रिक बहस चलाउने अभियान शुरु गरिएको बताए ।
मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि जनताले अनुभूति गर्नै नपाएको तर्क गरेका प्रसाईंको प्रश्न छ, मुलुकको शासन प्रणालीमा जुन अभ्यास भइरहेको छ त्यहाँ लोकतन्त्र कहाँ छ ? जनताले लामो समयसम्म लोकतन्त्रका लागि चलाइएका राजनीतिक अभियानमा लड्दै भिड्दै आएपनि वास्ताविक लोकतन्त्रको अभ्यास गर्न नसकेको अबस्थामा समाजको बहस श्रृंखला आवश्यक परेको उनको तर्क छ ।
योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले, बंगलादेशकी शेख हसिना, कम्बोडियाका हुसेनले पाएको मत परिणामलाई लोकतान्त्रिक पद्धती मान्ने हो भने अनुदार लोकतन्त्रिक अभ्यास स्थापित हुने दाबी गरे । जस्तो बंगलादेशमा म्यानमारका रोहिंग्यालाई शरण दिँदा हसिनाकको निर्वाचन क्षेत्रमा उनलाई २३ लाख मत पर्दा विपक्षीको पक्षमा १२३ मत मात्रै परेका थियो ।
त्यस्तै कम्बोडियामा १२५ संसदीय सीट सबै हुसेनको दलले जितेको थियो । कारण खोज्दा त्यहाँ विपक्षी दलले एनजीओसँग मिलेर चुनाव भाँड्न खोजेको आरोप लगाउँदै सर्वोच्चमा रिट परेका थियो । तर सर्वोच्चमा पनि हुसेन पक्षकै न्यायाधिसले विपक्षी दल भंग गरिदिए । विपक्षी दल बिनाको चुनावमा ८३ प्रतिशतले मतदान त गरे तर सबै सीट हुसेनकै दल विजयी भयो । त्यसैले वास्तविक लोकतन्त्र स्थापित हुन उदार लोकतन्त्र आवश्यक पर्ने उनको भनाइ छ । त्यसका लागि न्यायलय, नागरिक समाज, संचार माध्यम सबै मिलेर लागेमा उदार लोकतान्त्रिक स्थापित हुन सक्ने उनले बताए ।
पत्रकार अजयबाबु शिवाकोटीले राजाको निरंकुशता बिरुद्ध कलम चलाउँदै लड्दै आजको अबस्थासम्म आइपुग्दा पनि जनताले अझै वास्तविक लोकतन्त्रको मर्म अनुसारको अनुभूति गर्न नपाएको अबस्थामा, यस्ता बहसले लोकतान्त्रिक मान्यता स्थापित गर्न बल पुग्ने अपेक्षा गरे ।
समाजले आयोजना गरेको पहिलो श्रृंखलाको पहिलाे कार्यक्रमको कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सुदिप नकर्मीले सहजीकरण गरेको कार्यक्रममा समाजशास्त्री, अर्थशास्त्री, प्राध्यक्षक, नागरिक समाजका प्रतिनिधि, पत्रकार, विद्यार्थी लगायत सयजनाभन्दा बढी सहभागि थिए।