arrow

माइतीघरमा आन्दोलित कर्मचारी भन्छन्  ‘जे सुकै खारेज गरुन् हाम्लाई बाल मतलब’ !

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
News_karmachari.jpg

काठमाडौं । सरकारद्वारा निषेधित क्षेत्र घोषणा गरेको सिंहदरबार भित्र नै विरोध जुलुस निकाल्ने तयारीमा रहेका आन्दोलनरत निजामती कर्मचारीहरुको आन्दोलनको स्वरुप बदलिएको छ । उनीहरुले दिउँसो १ बजे संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयबाट शान्तिपूर्ण विरोध जुलुस निकाल्ने भनिएको भएपनि बाहिर सुरक्षाकर्मीहरुको बाक्लो सहभागिता पछि उनीहरुको कार्यक्रमको स्वरुप बदलिएको थियो । ती कर्मचारीहरुले शुक्रबार अपराह्न ३ बजेपछि माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।

कुनै पनि कर्मचारी युनियनको अघुवाई विना नै स्वतस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका यी कर्मचारीहरुले कर्मचारी आन्दोलन दबाउन ट्रेड युनियन खारेज गर्छु भन्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग प्रश्न गरेका छन् । ‘कुनै पनि ट्रेड युनियनको टेकोमा नअडिएका स्वतन्त्र कर्मचारीहरुलाई के गर्नुहुन्छ ?’ एक आन्दोलनकारी कर्मचारीले भने ‘स्वतस्फूर्त रुपमा आन्दोलन गरिरहेका छौं । मन्त्रीले जे सुकै खारेज गरुन् हाम्लाई बाल मतलब ?’ तर, उनले आफ्नो नाम लेखिदिँदा पछि समस्या हुने भन्दै आफ्नो नाम नलेखिदिन आग्रह गरे ।  

कर्मचारी समायोजन अध्यादेशको विरोधमा रहेका कर्मचारीहरुले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै निषेधित क्षेत्र सिंहदरबारमा नै विरोध जुलुस निकाल्ने तयारी गरेको भएपनि प्रहरी हस्तक्षेपको संकेत पाएपछि उनीहरुको कार्यक्रम स्थगित भएको थियो । यसरी आन्दोलनमा उत्रनेहरु कुनैपनि पार्टी विशेष र ट्रेड युनियनमा आवद्ध नरहेका स्वतन्त्र कर्मचारीहरु हुन् । उनीहरु कसैको पनि झण्डा नलिई स्वतन्त्र रुपमा माईतीघर मण्डलामा उपस्थित भएका थिए । केही दिन अघि प्रधानमन्त्री कार्यालय पुगेर घेराउ गरेका कर्मचारीहरु पनि यही स्वतन्त्र कर्मचारीहरु हुन् । 

यसरी स्वतन्त्र कर्मचारीहरु नै आन्दोलनमा उत्रिएपछि ट्रेड युनियन खारेज गर्ने चेतावनी दिने सरकारलाई थप चुनौती थपिएको छ । यसले यो कुनै राजनीतिक दलको एजेण्डा नभई आम कर्मचारीको एजेण्डा हो भन्ने कुरा स्थापित भएको छ । यिनै स्वतन्त्र कर्मचारीहरुले यस अघि पौष ४ गते स्वतस्फूर्त रुपमा सिंहदरबारमा स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संघीय मामला तथा स्थानीय विकास मन्त्रालय घेरेका थिए । उनीहरुले सरकारले विशिष्ट श्रेणीका कर्मचारीहरुले आफ्नो स्वार्थ समेटेर अध्यादेश ल्याएको आरोप लगाउँदै आएका छन् । 

सरकारले बन्न लागेको संघीय निजामती सेवा ऐनमा ट्ेड युनियन खारेज गर्ने प्रावधान ल्याउने भनेर धम्की दिईरहँदा स्वतस्फूर्त रुपमा माईतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारी स्वयं पनि कर्मचारी ट्रेड युनियन आवश्यक नरहेको बताउँछन् । पछि सरकारको तारो बन्ने भयले उनीहरु कसैले पनि यसबारे अभिव्यक्ति दिन भने चाहेनन् । माईतीघरमा भेटेका उनीहरुले कर्मचारी ट्रेड युनियन आवश्यक नै नरहेको भन्दै ट्रेड युनियन खारेज गर्दैमा कर्मचारी आन्दोलन नरोकिने बताएका छन् । 

बुधबार मन्त्री पण्डितले जसरी पनि यो अध्यादेश लागू गराएरै छाड्ने भन्दै पत्रकार सम्मेलन नै गरेर जानकारी दिएका थिए । त्यसपछि कर्मचारीहरु झनै आक्रोशित भएर निषेधित क्षेत्र भनिएको सिंहदरबार भित्र नै विरोध जुलुस निकाल्न लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ