पार्टी बलियो भए सभापति पनि बलियो हुन्छ, सभापति बलियो भएर पार्टी बलियो हुन्न – कृष्ण सिटौला
‘कर्मशील मौरी मात्र हैन कार्यकर्ताको शुभेच्छा रहे रानी मौरी पनि बन्न सकिन्छ’
प्रकाशित २०७५ पुष १२ बिहिबार
299
Shares
काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी बलियो भए सभापति पनि बलियो हुने तर सभापति बलियो हुँदैमा पार्टी बलियो नहुने बताएका छन् ।
महासमिति बैठकपछि पहिलो पटक काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विचार सार्वजनिक गरेका नेता सिटौलाले पार्टीमा व्यक्ति हावी हुन नहुने भन्दै पार्टीलाई बलियो बनाउनु पर्ने बताए ।
दबेको कार्यकर्ताले कांग्रेसको चरित्र जोगाउन सक्दैन भन्दै दबाउने नीति नेतृत्वले बन्द गर्नुपर्नेमा उनले जोड दिए ।
काँग्रेस अगाडि नलागे उपलब्धी गुम्ने
कांग्रेसको स्वाभिमान उठाउन महासमितिले भनेकाले स्वाभीमानी काम गर्न उनले नेतृत्वलाई सुझाएका छन् । संसदमा काँग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने हो भने अहिलेसम्मका उपलब्धी गुम्ने भन्दै नेता सिटौलाले कांग्रेसले अपनत्व लिनु पर्नेमा जोड दिएका छन् । उनले काँग्रेसले अपनत्व नलिए संविधान नरहनेतर्फ सचेत गराएका छन् ।
उनने भने, ‘राजतन्त्र आउँछ की भनेर ज्ञानेन्द्र पनि हिडेकै छन्, विप्लव पनि व्यवस्थाको विरोधमै छन्, सिके राउत अलग राज्य भनेर हिडेकै छन्, धर्म रूपान्तरण गर्न पाउनु पर्छ भन्ने पनि यो संविधान फेल गराउन चाहन्छ, तसर्थ काँग्रेस सचेत भएर अगाडि बढ्नु पर्नेछ ।’
सबै तत्वलाई परास्त गर्न काँग्रेसले संविधानको अपनत्व लिँदै कार्यान्वयनमा जानुपर्नेमा नेता सिटौलाले जोड दिएका छन् ।
अबको नेतृत्वबारे के भने सिटौलाले ?
सिटौला यसअघिको महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दिएका थिए । चुनावमा उठे । तर अनिर्णयले अप्ठेरो पार्ने भएपछि अन्तिममा गएर शेरबहादुर देउवालाई साथ दिए । देउवाले जिते । वरिष्ठ नेता रामचन्द्र पौडेलले हारे ।
त्यतिबेलै सिटौलाले भनेका थिए – ‘काँग्रेसभित्र नेतृत्व गर्ने नेता नदेखेर आफै चुनावमा उठेको हुँ ।’ एकपटक फेरि यसबारे सिटौलाले मुख खोलेका छन् ।
उनले भने, ‘शेरबहादुर र रामचन्द्रलाई नेता मानेकों थिइन, अहिले पनि मानेको छैन, पदलाई मानेको छु ।’
नेता सिटौलाले महाधिवेशनको मिति तय भएपछि उमेदवारीको टुंगो लाग्ने भन्दै ‘कर्मशील मौरी मात्र हैन कार्यकर्ताको शुभेच्छा रहे रानी मौरी पनि बन्न सकिन्छ ’ भने ।