काठमाडौं । संविधानको मौलिक हक अन्तर्गत श्वास फेर्न नपाएको भन्दै मास्क मुभमेन्ट #MaskMovement_2K18 सुरु भएको छ । यस मास्क मुभमेन्ट अभियानका संयोजक नवराज त्रिपाठीले विभिन्न क्याम्पसहरुमा गएर मास्क मुभमेन्ट गरिरहेको बताएका छन् ।
उनले हाम्राकुरासंग भने, ‘हामीले दुई हप्तादेखि राजधानीका विभिन्न कलेजमा गएर मास्क मुभमेन्ट गरेका छौं । यो चेतना दिने कार्यक्रम हो । यसले कसैलाई हानी गर्दैन । स्वस्थ्य रहनका लागि हामीले शुद्ध स्वास फेर्न पाउनका लागि गरिएको यो शान्तिपूर्ण अभियान हो ।’
मास्कमा ‘सास फेर्न दे सरकार’ लेखिएको छ । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३० अन्तर्गत रहेर अभियान सुरु गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यसमेत रहेका त्रिपाठीले बताए ।
राजधानीको वायु प्रदूषणले काठमाडौंवासीलाई मात्र होइन महानगरका प्रतिनिधि तथा कर्मचारीलाई पनि असर पर्ने भन्दै अभियानले बिहीबार महानगरकी उपमेयर हरिप्रभा खड्कीलाई पनि ‘सास फेर्न दे सरकार’ लेखिएको मास्क उपहार स्वरुप लगाइदिएका छन् ।
भृकुटीमण्डपबाट सुरु भएको र्यालीले महानगरको कार्यालयमा पुगेर उपमेयर खड्कीलाई मास्क लगाइदिएको हो । नेविसंघका महामन्त्री कुन्दन काफ्लेले मास्क लगाइदिए ।
काठमाडौंको प्रदूषणको मापन निकै दयनिय स्थितिमा पुगे पनि खड्कीले भने धुलोधुवाँ कम भइरहेको प्रतिक्रिया दिएको संयोजक त्रिपाठीले जनाए । उनीहरुले उपमेयर खड्कीलाई ज्ञापनपत्र पनि दिएका छन् । यस्तो छ ज्ञापनपत्र –