काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक चलिरेहकैबीच एक संस्थापक पूर्व कांग्रेसी नेता डा. तुल्सी गिरीको निधन भएको छ। उनलाई थुप्रैले स्मरणीय व्यक्तित्व भनेका छन्। हार्डलाइनर पञ्च भएपनि धेरैले गिरीलाई आदर्श भनेका छन्। उनको निधनले राजावादीहरुलाई ठूलो आघात पुगेको छ। तर, कांग्रेसीजन गिरीको निधनले क्षति पुगेको ठान्लान कि नठान्लान् ? ‘वीपीको क्याविनेटका सारथी भएकैले पनि कांग्रेसीहरुले शोक मनाउनु पर्ने।'
महासमितिमा जुटेका कांग्रेसीहरुलाई गिरीको निधनले एउटा कुरा भने राम्ररी सम्झाएको छ। ‘२०१७ सालमै अन्र्तघातको बल्छिमा उनिएको कांग्रेस अहिले पनि मुक्त हुन नसकेको कुरा’। १३औँ महाधिवेशनपछिको महासमिति बैठकसम्म आइपुग्दा कांग्रेस अन्तर्घातको बल्छिबाट मुक्त भएको छैन। जारी महासमितिमा त्यसैको चर्चा भइरहेको छ। आरोप प्रत्यारोप चलिरहेको छ।
गिरीले वीपीको विकेट खसाले
डा. तुलसी गिरीले २०१७ भदौ ३० गते पदबाट राजीनामा दिए। त्यो, बेला वीपीको क्याविनेटमा परराष्ट्रमन्त्री थिए, उनी। राजीनामाको निहु थियो, ‘सरकारले जति काम गर्न सक्थ्यो त्यति गरेन’ भन्ने। उनकै राजीनामाबाट जननिर्वाचित पहिलो प्रधानमन्त्री वीपीको सरकारको विकेट खस्यो। त्यहीबाट राजनीतिको अन्तर्यमा अनिष्टका अनेक शंका–उपशंका उब्जिए। राजा महेन्द्रले संसदीय पद्धतिमाथि तीर हान्दैछन् भन्ने गाइँगुँइ कूटनीतिक क्षेत्रमा चल्दै थियो।
नभन्दै डा. गिरीले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि देखाई राजीनामा दिए। गोप्य रूपमा राजालाई भेटे। अनि, अनिष्टको संकेत आइहाल्यो। लगत्तै राजदरबारमा कोइराला सरकार ढाल्ने खिचडी पाकेको कुरा पनि बाहिर आयो। उबेलाको घटनाक्रम सम्झदै, केही समय अगाडि वरिष्ठ पत्रकार भैरव रिसालसँगको भेटमा हाम्राकुरा प्रतिनिधिलाई सुनाएका थिए।
गिरीले राजीनामा दिएको र राजा भेटेको प्रसंग पत्रकार रिसालले पछि, हिमाल खबरमा पनि लेखे। भेटघाटको सिलसिलामा उनले कीर्तिनिधि विष्टलाई राजाले नै कविता लेख्न लगाएको कुरा पनि सुनाएका थिए।
सरकारविरुद्ध दरबारले गर्ने षड्यन्त्रबारे सरकारलाई नै थाहा हुँदैन थियो। तर, तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले खटाएका गुप्तचरबाट गिरीले राजा भेटेको कुरा थाहा भयो। त्यो बेला गुप्तचर विभाग गृहमन्त्री मातहत थियो। डा. गिरीले राजालाई भेटेको त्यो सूचना सिपाहीबाट चोरेका थिए गुप्तचरले। सूर्यनाथले पछि पत्रकारलाई ‘त्यो पाँच शब्दको सूचनाले धेरै कुराको संकेत दियो’ भनेर भन्दिए।
ती गुप्तचर सधैंजसो बिहान पशुपतिबाट टीका र फूल–प्रसाद लिई राजदरबारको पश्चिम ढोकामा गई सेनाका अफिसरदेखि जवानसम्मलाई प्रसाद दिने, टीका लाइदिने गर्थे। उनको बानी नै अचम्मको, ठूलो स्वरमा भट्याईभट्याई आशीर्वाद दिने। सूचना चुहाउन उनी विना सिलसिला, विना प्रसङ्ग र बेतुकका कुरा पनि गर्थे। उनको ड्यूटी नै सेनाका जवानहरूलाई मनोरञ्जन दिई दरबारका कुरा थाहा पाउनु। उनैले गृहमन्त्रीलाई गिरीले राति राजालाई भेटेको सूचना दिएका थिए।
महेन्द्रले तुलसी र विश्वबन्धुमार्फत जाल हाने
त्यो समयमा, कांग्रेसमा विश्वेश्वरप्रसाद, सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, डा.तुलसी गिरी, विश्वबन्धु थापा, श्रीभद्र शर्मा, महेन्द्रनारायण निधि, परशुनारायण चौधरी लगायतको नामै काफी थियो। यीमध्ये महेन्द्रले आफुतिर खिच्नसक्ने नेता छाने। अरूलाई सकेनन्। उनले डा. तुलसी गिरी र थापाको मनपेट बुझे। र, जाल हाने।
गिरीले पछिसम्म साथ दिने–नदिने परीक्षण गर्न मन्त्रीबाट राजीनामा गर्न लगाए, राजा महेन्द्रले। त्यो गिरीका लागि अग्निपरीक्षा थियो। पछि प्रधानमन्त्री बनाउने सुर्केनी हानेकैले पनि गिरीले वीपीलाई धोका दिएको भन्छन्, केहीले अहिले पनि।
महेन्द्रले पुस १ मा ‘कु’ गरे। पुस १ को ‘कु’ पछि गिरी पनि थुनिएका थिए। तर, उनी पुस ५ मै छुटे। उनै थिए, त्यो गिरफ्तारीको आतंकपछि छुट्ने पहिलो व्यक्ति। विश्वबन्धु थापा तत्कालीन प्रतिनिधिसभामा नेपाली कांग्रेसको ‘चीफ ह्विप’नै थिए। उनी राष्ट्रसंघको १५औं अधिवेशनमा भाग लिएर पुस ७ मा अमेरिकाबाट फर्किएपछि त्रिभुवन विमानस्थलमै पक्राउ परे। तर, केही घण्टामै छुटे।
पछि तत्कालीन राजा महेन्द्रले २०१७ पुस १२ गते १० सदस्यीय मन्त्रिपरिषद् बनाउँदा डा. गिरी परराष्ट्र, रक्षा, नहर, निर्माण तथा संचार, विद्युत् तथा राजदरबार र विश्वबन्धु गृह, विकास र स्थानीय स्वायत्त शासनमन्त्री भए। यात्रा त्यतिमै रोकिएन। डा. गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्षमा बढुवा भए। विश्वबन्धु समेत पछि उपाध्यक्षमा बढुवा भए।