निर्मला हत्यामा प्रमाण नष्ट गर्ने तत्कालीन एसपीसहित एक दर्जनविरुद्ध जाहेरी
प्रकाशित २०७५ पुष ३ मंगलबार
296
Shares
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषहरूलाई यातना दिनेविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ ।
प्रमाण नष्ट गर्नेविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर र प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टलाई यातना दिनेविरुद्ध यातना कसुरमा जाहेरी पेस भएको हो ।
सार्वजनिक न्यायविरुद्धको कसुरमा निर्मलाकी आमा दुर्गादेवी र यातनासम्बन्धी कसुरमा दिलीप विष्टका दाइ खड्क विष्टले जाहेरी दिएका हुन् । दुर्गादेवीले बर्खास्तमा परेका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट, निलम्बितहरू डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई हरिसिंह धामी, प्रहरी सहायक निरीक्षक रामसिंह धामी र हवल्दार चाँदनी साउदका नाममा जाहेरी दिएकी हुन् ।
जाहेरीमा दुर्गादेवीले छोरीको खोजी गर्दादेखि शव भेटिएपछि र अन्त्येष्टि गर्दासम्म प्रहरीले लापरबाही गरेको उल्लेख गरेकी छिन् । छोरी हराएको जानकारी गराउँदा समयमा प्रहरी नआएको, शव भेटिँदा घटनास्थल सुरक्षित नगरेको र प्रहरीबाटै प्रमाण नष्ट भएको उल्लेख छ ।
यसैगरी घटनाको अनुसन्धानका क्रममा पनि प्रहरीले अपराधी पत्ता लगाउने भन्दै दोषीलाई बचाउने गरी काम गरेको लगायतका उल्लेख छन् । दुर्गादेवीले प्रहरीमा जाहेरी दिँदा प्रमाण नष्ट गर्नेलाई कारबाहीसँगै लुकेर बसेका हत्यारासमेत पत्ता लगाउन माग गरेकी छिन् ।
जाहेरीमा प्रमाणका रूपमा तत्कालीन एसपी विष्ट र तत्कालीन प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गरिएको, प्रहरीले घटनास्थलमा प्रमाण नष्ट गरेका विभिन्न भिडियोसमेतलाई सबुत प्रमाणका रूपमा राखिएको छ ।