कांग्रेस नेताहरु महामन्त्रीको १२ पदाधिकारीको प्रस्ताव नजिक, मनोनित गर्ने नगर्नेमा विवाद कायमै
प्रकाशित २०७५ पुष ३ मंगलबार
254
Shares
काठमाडौं। पदाधिकारी संख्या र निर्वाचन पद्धतीमा सहमति जुट्न नसकिरहँदा टुङगिन नसकेको विधानको बिषयमा नेपाली कांग्रेसका नेताहरु सहमति नजिक पुग्ने प्रयास जारी राखेका छन्। सोमबार दुई चरणमा बसेको वैठकमा कांग्रेस नेताहरुले सहमति जुटाउने प्रयास गरेपनि ठोस समति भने जुट्न सकेन। स्रोतका अनुसार यद्यपी पदाधिकारी संख्यामा भने सहमति जुट्ने देखिएको छ।
सभापति शेर बहादुर देउवा तथा उनी निकटहहरुले सभापति बाहेक दुई दुई जना उपसभापति महामन्त्री र सहमहामन्त्री राख्ने त्यस मध्ये एक एक जना निर्वाचित हुने र एक एक जना मनोनित हुने प्रस्ताव गरेका थिए। तर देउवा इतर नेताहरुले भने पदाधिकारी संख्या तीन तीन जना हुनुपर्ने तथा ती सबै पदाधिकारी निर्वाचनबाट चयन हुनु प्रस्ताव गरेका थिए। उनीहरुले दुई दुई जना पदाधिकारी भए पनि उनीहरु सबै प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने अडान राखेका थिए। कोषाध्यक्ष पनि निर्वाचनबाट ल्याउनु पर्ने प्रस्ताव देउवा इतरको छ भने देउवा पक्षको भने कोषाध्यक्ष र प्रवक्ता मनोनित गर्ने प्रस्ताव छ। निर्वाचन पद्धतीको बारेमा कुरा मिल्न नसक्दा सोमबार विहान केन्द्रीय समितिको वैठक बस्न सकेन। साँझको दोस्रो प्रयास पनि टुङगिन सकेन।
यद्यपी निकास खोज्ने प्रयास अन्तर्गत विधान मस्यौदामा १२ जना पदाधिकारी राख्ने बिषयमा लगभग सहमति भएको छ। तर निर्वाचन पद्धतिमा नेताहरूबीच मतभेद हुँदा विधान मस्यौदा केन्द्रीय समितिमै अड्किएको छ। महासमिति बैठकमा प्रस्तुत गर्न तयार पारिएको विधान मस्यौदामा केन्द्रीय समितिमा सहमति जुट्न नसकेपछि महासमिति बैठक सुरु भएको तीन दिनमा पनि विधान मस्यौदा महासमिति बैठकमा प्रस्तुत हुन सकेको छैन।
विधानमा सहमति जुटाउन पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार साँझ भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा १२ जना पदाधिकारी राख्न अनौपचारिक सहमति भएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए।
स्रोतका अनुसार बैठकमा महामन्त्री डा शशांक कोइरालाले एक सभापति, दुई उपसभापति, तीन महामन्त्री, पाँच सहमहामन्त्री र एक कोषाध्यक्षसहित १२ जना पदाधिकारी प्रस्ताव ल्याएका थिए। यसमा अनौपचारिक सहमति भएको स्रोतले जनाएको छ। तर यसमा निर्वाचन पद्धति कस्तो हुने भन्नेमा विवाद छ।
देउवा तथा उनी निकटहरुले सबै पदमा एक एक मनोनीत गर्न प्रस्ताव गरेको छ तर देउवा इतर समूह भने यो विषयमा सहमत छैन। सबै पदमा एक एक मनोनीत गर्ने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि केहि सकारात्मक रहेपनि तर आफू निकटका नेताले नमानेपछि उनी अप्ठ्यारोमा छन्। पदाधिकारीको निर्वाचन पद्धतिमा सहमति जुटाउन मंगलबार बिहान ९ बजे पुनः बैठक बस्ने सहमति भएको छ।
देउवा समूह भने पदाधिकारी समावेशी बनाउनुपर्ने भन्दै मनोनीतको पक्षमा उभिएको छ। मनोनित गर्ने कुरालाई बल पुर्याउने महासमिति सदस्यले बन्द सत्रमा कुरा रा्दा देउवा आफै ताली पड्काइरहेका पाइन्थे। त्यसबाट पनि उनी मनोनित गर्ने व्यवस्थाका लागि लागिपरेको देखिन्छ।
केन्द्रीय समितिमा सहमति नजुटेपछि महासमिति बैठक लम्बिने संकेत देखिएको छ। पार्टीले तयार पारेको पुरानो कार्यतालिकाअनुसार मंगलबार बैठकको अन्तिम दिन हो। ७० पेज भन्दा लामो विधान टुङगिएर प्रेसमा पठाएर छापिएर आउँदा एक दिन लाग्ने छ। मंगलवार सहमति भएमा बुधवारको वैठकमा विधान पेश हुनेछ। केन्द्रीय समितिमा सहमति भएर आएमा त्यसै दिन विधान पारित हुन सक्छ तर सहमति नभइ आएमा छलफलले समय लिन सक्छ। यस कारणले पनि वैठक लम्बिन सक्ने देखिएको हो। तर बैठक पूर्वनिर्धारित समयभन्दा पछाडी नजाने प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्। शुरुमै एक दिन ढिला भएका कारण एक दिन लम्बिन सक्ने प्रवक्ता शर्माले बताए।