काठमाडौँ । नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् ।
यहाँ आज सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८९९ मत ल्याई प्रगतिशील समूहका प्रा डा त्रिरत्न बज्राचार्य विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनामा उनले लोकतान्त्रिक समूहका हिरण्यमान प्रधानलाई पराजित गर्दै विजयी भएका हुन् । प्रधानले चार हजार ४८६ मत ल्याए। यस्तै उपाध्यक्षमा आशिष घिमिरेले चार हजार ६३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा चण्डिकाप्रसाद भट्टले चार ६११ मत प्राप्त गरे ।
महासचिवमा छविराज पोखरेल विजयी भए । पोखरेलले चार हजार ८४५ मत ल्याउनुभएको छ । उनका प्रतिद्वन्द्वी अभिमन्युलाल सिंहले चार हजार ४१७ मत प्राप्त गरे। यसैगरी उपमहासचिवमा प्रगतिशील समूहकै कपिल आचार्यले चार हजार ७६८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अशोककुमार साहले चार हजार ४१० मत प्राप्त गरे। कोषाध्यक्षमा रामएकवाल यादवले चार हजार २२७ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी अपिल केसीले तीन हजार २५७ मत प्राप्त गरे।
सहकोषाध्यक्षमा प्रगतिशीलकै चाँदमाला श्रेष्ठले चार हजार ६५४ मत प्राप्त गरी विजयी हुँदा लोकतान्त्रिक समूहका जानुका थापाले चार हजार ५२४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिए । सदस्यमा प्रगतिशील समूहका चार सदस्य विजयी हुनुभयो । उहाँहरुमा छवि अधिकारी, प्रताप सापकोटा, दिलीपकुमार विश्वकर्मा, गजेन्द्रकुमार झा छन् ।
यस्तै लोकतान्त्रिक समूहका सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, एभरेष्ट केसी, ज्योतिमणि भट्टराई, उमेशप्रसाद चौधरी र सुदर्शन भण्डारी सदस्यमा विजयी भएका छन् । एशोसिएशनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन गत शुक्रबार काठमाडौँलगायत सात वटै प्रदेशमा भएको थियो । निर्वाचनमा प्रगतिशी र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा भएको थियो । रासस