arrow

सातगाउले जात्रा सामाजिक सदभाव फैलाउने जात्रा सामुहिक रुपमा मनाइदै

logo
प्रकाशित २०७५ पुष २ सोमबार
kirtipur-jatra.jpg

काठमाडौ। उपत्यकाको दक्षिण–पश्चिम भेगको सातगाउले जात्रा अन्तर्गत ऐतिहासिक बखुमद जात्रा आज मनाइदैछ। काठमाडौको दक्षिण पश्चिममा पर्ने ७ गाउलेले सामुहिक रुपमा  जात्रा  मनाउदैछन। कीर्तिपुर, सतुंगल, मच्छेगाउ बोसेगाउ, ल्वहखा, पांगा, नगाँउ, नैकापका देवताहरुलाई आज संगठित बाजागाजासहित तीनथानास्थित विष्णुदेवी मन्दिरमा लगेर सामुहिक जात्रा गरिन्छ।

आ–आफना गुठीयारहरु जम्मा भएर यो जात्रा मनाउन एकै स्थानमा मुल देवता वा प्रतिक देबतालाई खटमा राखेर विष्णुदेवी मन्दिरमा बिशेष पुजा गरिन्छ। यो जात्राले यस भेगमा बसोबास गर्ने विभिन्न जातिवीच एकता र भाइचाराको भावनामा पनि अभिवृद्धि गरेको छ। यो जात्रा अष्टमातृका देवीहरुसंग सम्बन्धित छ।काठमाडौको दक्षिण पश्चिममा रहेका अष्टमातृका देवीलाई साधना गरी एकै स्थानमा आह्वान गरी पुजा गरिन्छ। विष्णुदेवीका छोरीहरु दशमिका दिन माइत आउने र जात्रा मनाउने परम्परा रहेको स्थानीयको भनाइ छ।

सातगाउले जात्रा मंसिर शुक्लपक्ष चौथीका दिन बिधिबत रुपमा सुरु गरी आआफ्नो गाउमा जात्रा मनाइ दशमिका दिन एकै स्थानमा भेला भइ जात्रा गर्ने परम्परा छ। बखुमद अष्टमीका दिन किर्तिपुर ९ वडा स्थित नगाउमा ‘धाल्चा खाकेगु जात्रा’ मनाइएको थियो। साथै नवमीका दिन पांगाको बिष्णुदेवी जात्रा पनि संग संगै संचालन गरिएको छ। यसैगरी दशमीका दिन सोमबार  कीर्तिपुरकै इन्द्रायणी देवीको जात्रासँगै सातगाउँमा एकै दिन जात्रा मनाइन्छ।

सातगाउँले बखुमद जात्राको किंबदन्ति
स्वयम्भु महाचैत्य अगाडि एक ऋषि नैकापको वैष्णवी पिठ नजिकै यज्ञ गरिरहेको थिए। त्यस नजिकै रुखमा एक बथान परेवा बसेका थिए। परेवा देखेर एक शिकारीले गुलेली हिर्काएर परेवा घाइते बनाई दिएछन्। घाइते परेवा नजिकको ऋषिले चलाएको यज्ञकुन्दमा होमिन पुगेछ। निर्दोष परेवाको अकालमा बिनाकारण जीवन नै समाप्त भयो।

विशुध्द धर्म भावले गरेको यज्ञ होममा परेवाको प्रण होमिएपछि पश्चाताप स्वरुप ऋषिले बखुँ अर्थात परेवा, मर्यो अर्थात मन्त भन्दै प्रत्येक बर्षको मङ्सिर शुक्ल दशमीका दिन बखुमंत जात्रा गर्ने परम्परा बसाएका हुन्। नेपाल भाषामा बखुमंत जात्रा नै कालान्तरमा बखुँ मद जात्रा हुन पुगेको जानकारहरु बताउँछन्।

बखु मदः जात्रालाई अहिलेको चलनचल्तीमा खस भाषामा सात गाउँले जात्रा भनिन्छ। सातगाउँ भित्रका आदिवासी नेवार समुदायमा मुख्य रुपमा मनाइने जात्रा भएकाले सातगाउँले जात्रा भनिएको हो। एकीकरण अगाडि काठमाडौँ उपत्यकाको दक्षिण(पश्चिममा सतुङ्गल, नैकाप मच्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ, किर्तिपुरसहितको छुट्टै राज्य रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ