कांग्रेस बैठकः निर्वाचन पद्धति र पदाधिकारी संख्यामा सहमति खोजिँदै
७० पृष्ठको विधान प्रकाशित गर्ने तयारी
प्रकाशित २०७५ पुष २ सोमबार
562
Shares
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ । काँग्रेसको विधानमा सहमति जुटाउन अन्तिम पटकको लागि भन्दै केन्द्रीय सदस्यहरु सिंहदरबारमा भेला हुँदैछन् ।
केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका अनुसार निर्वाचन पद्धति र पदाधिकारी संख्यामा मात्र सहमति जुट्न बाँकी रहेको छ । अन्य बुँदामा भने सहमति भैसकेको बताइएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधानका लागि सर्वसम्मतिको प्रयास भइरहेको छ । यदि सर्वसम्मत भएन भने समानान्तर प्रस्ताव आउन सक्ने सम्भावना रहेको बताइन्छ ।
विधानमा सहमति जुटाउन विधान मस्यौदा समितिका सदस्यहरुले आइतबार राति अवेरसम्म छलफल गरेका थिए । सहमति नजिक पुगिएको नेताहरुले बताएका छन् ।
कसरी बाँड्न खोजिदैछ ?
विधानमा सहमति जुटे वा नजुटेर समानान्तर प्रस्ताव आउने भए पनि त्यसको प्रकाशन सजिलो छैन । काँग्रेस सचिवालयका अनुसार विधान झण्डै ७० पृष्ठको हुनेछ । यसको छपाई गरेर तत्काल काँग्रेस महासमिति सदस्यहरुलाई बाँड्न सजिलो छैन ।
तसर्थ विभिन्न प्रेसहरुलाई दिएरै भए पनि सोमबारै विधान बाँड्ने तयारी भइरहेको बताइएको छ । यसका लागि मस्यौदा समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले निर्देशन दिइसकेको बताइएको छ ।
केन्द्रीय समितिले महासमिति प्रभावित हुने त हैन ?
केन्द्रीय समिति बैठकले महासमिति प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दैै सभापति शेरबहादुर देउवाले उपसभापति विजयकुमार गच्छदारलाई सभापतित्व ग्रहण गर्न लगाएरै भए पनि महासमिति अवरुद्ध नगर्ने पक्षमा रहेको बताइएको छ ।
एकातिर केन्द्रीय समिति बैठक र अर्कातिर महासमिति बैठक बस्न सक्ने सम्भावना नरहेको हल्ला विपरीत दुवै बैठकलाई निरन्तरता दिने प्रयास भइरहेको छ ।
विधानमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाका छुट्टाछुट्टै पदाधिकारी संख्या र चयनका लिष्ट छन् । कांग्रेस विधानमा नेताहरुको अलग अलग प्रस्ताव, कसरी खोजिँदैछ सहमति यसले गर्दा महासमिति सदस्यहरुले शीर्ष नेताहरु स्वार्थी भएको आरोप समेत लगाएका छन् ।
महासमिति बैठकमा पाँच विषयमा प्रस्ताव पारित गर्नुपर्नेछ । चार प्रस्ताव केन्द्रीय समितिले पारित गरे पनि विधान पारित गर्न सकेको छैन ।